सिस्ने गाउँपालिकाको ‘हाम्रो सिस्ने’ पाठ्यपुस्तक तयार

सिस्ने गाउँपालिकाको ‘हाम्रो सिस्ने’ पाठ्यपुस्तक तयार

पाठ्यपुस्तक तयारका क्रममा छलफल गर्दै बिज्ञ समुह ।

मुसिकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी त्यसमा आधारित पाठ्यपुस्तक समेत तयार गरेको छ । राष्ट्रिय पाठयक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठयक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरे सँगै सिस्ने गाउँपालिकाले विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उदेश्यले पाठयक्रम तयार पारेको हो ।

कक्षा ६ को पाठ्यपुस्तक

नयाँ पाठ्यक्रमको आधारमा १०० पुर्णाङ्कको ‘हाम्रो सिस्ने’ नामक कक्षा ६ को पाठ्यपुस्तक बनाएको गाउँपालिकाले यसै शैक्षिक सत्र देखि उक्त पाठ्यक्रम लागु गर्ने जनाएको छ । गाउँपालिका भरिका ६ देखि ८ कक्षा सम्म पढाई हुने १६ वटा विद्यालयमा लागु गर्नेगरी पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताएकी छिन । तर यस बर्ष कक्षा ६ बाट उक्त पाठ्यक्रम लागु हुनेछ । पाठ्यपुस्तक विद्यार्थीहरु लाई निशुल्क उपलब्ध गराइने छ ।

गाउँपालिका अध्यक्ष बरालका अनुसार, पाठ्यक्रम निर्माण सम्पन्न गरी त्यसकै आधारमा पाठ्यपुस्तक निर्माण गरिएको हो । सिस्ने गाउँपालिकाको भूगोल, ईतिहास, जनसंख्या, धर्म, संस्कृति, रितिरिवाज, पर्यटन, पेशा व्यवसाय, समाजिक मूल्य र मान्यता लगायतका बिषयवस्तु पाठ्यपुस्तकमा समावेश गरिएको हो ।

गाउँपालिकाले रुक्मिणी माध्यामिक विद्यालय रुकुमकोटका शिक्षक चन्द्रवहादुर मल्लको संयोजकत्वमा पाठ्यक्रम निर्माणका लागि ११ सदस्यीय बिज्ञ समुह बनाएको थियोे । उक्त समुहले विभिन्न चरणमा स्थानीय सरोकारवालाहरुसंग छलफल र अध्ययन गरेर पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तकको मस्यौदा समेत तयार गरेको हो ।

जनप्रतिनिधि, नागरिक समाज, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा सम्बद्ध विभिन्न सरोकारवाला लगायतसंग छलफल गरी पाठ्क्रम तयार गरिएको र त्यसैका आधारमा पाठ्यपुस्तक बनाईएको हो । बिज्ञ समुहको सदस्यहरुमा हरिकृष्ण गौतम, पंचबहादुर के.सी., मोहनबहादुर के.सी., लालबहादुर खत्री, केशव कुमार बि.सी., दुर्गा गौतम, तिर्था पुन, मनमती पुन, ओपेन्द्रलाल कामी र मेघलाल घर्ति रहेका छन ।

गाउँपालिकाका अनुसार पाठ्यपुस्तक छपाईको काम अन्तिम चरणमा पुगेको छ । आगामी शैक्षिक सत्रमा कक्षा ७ र त्यसपछिको शैक्षिक सत्रमा कक्षा ८ मा पनि अनिवार्य विषयका रुपमा पाठ्यपुस्तक लागु हुने बताईएको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०४९ मा स्थानीय विषयवस्तु समेटेर पाठ्यपुस्तक बनाई लागु गर्न सकिने व्यवस्था गरिएको विज्ञ टोली संयोजक चन्द्र बहादुर मल्लले बताए ।

स्थानीय पाठ्यपुस्तक लागु भएमा विद्यार्थीहरुले आफ्नो स्थानीय तहका बारेमा पर्याप्त जानकारी लिनुका साथै नैतिक शिक्षा प्राप्त गर्ने विश्वास गरिएको छ । स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने बिज्ञ समुहका सदस्य केशव कुमार बिसीले बताए । जिल्लामा आफनै पाठयक्रम लागू गर्ने पहिलो स्थानीय तह उक्त गाउँपालिका हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार