आज हरितालिका तीज पर्व मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार