साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने

साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने

विराटनगर । रासायनिक मलको हाहाकार भइरहेका बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार या सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ ।

कार्यालयमा आजै ३० टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनका अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य ७०० रुपैयाँ कायम भएको छ । सहकारीले प्रतिबोरामा १२ रुपैयाँ ५० पैसा छुट पाउने व्यवस्था गरिएको छ । विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले ६ हजार टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको बिर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफ्नै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।

विगत दुई दशकको अवधिमा यसै वर्ष धान रोपाइँ पूर्वी क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी अर्थात तीन लाख २२ हजारभन्दा बढी हेक्टरमा किसानले धान लगाएका छन् । धान रोपेको १३ दिनपछि किसानले खेतमा युरिया हाल्ने गर्छन् । यस वर्ष मल अभावमा किसानले युरिया मल हाल्न सकेका छैनन् । किसानले आफ्नै हिसाबले भारतबाट युरिया मल खरिद गरेर खेतमा हाल्ने गरेका छन् । भारतबाट खरिद गरिएको युरिया मलको गुणस्तर निकै निम्‍न रहेको कृषि विज्ञहरुको भनाइ छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार