भारतमा कोरोना बढ्दै गए पनि महत्वपूर्ण परीक्षाहरु सञ्चालन हुँदै

भारतमा कोरोना बढ्दै गए पनि महत्वपूर्ण परीक्षाहरु सञ्चालन हुँदै

कोरोनाको डरका वापद् भारतले सोमबारदेखि देशको सबैभन्दा प्रतिस्पर्धात्मक कलेज परीक्षा, ‘जोइन्ट इन्ट्रान्स एक्जामिनेसन’ , जेइइ सञ्चालन गराएको छ जसले प्रत्येक वर्ष लाखौँ विद्यार्थीहरुको भविष्य निर्धारित गर्ने गरेको छ । बढ्दो संक्रमणका बीच विद्यार्थीहरुले परीक्षा स्थगित गराउन लगातार माग गरिरहेपनि परीक्षा तालिकाअनुसार सञ्चालन गरिने निर्णय लिइएको हो ।

विद्यार्थीहरुले सामाजिक सञ्जालमार्फत परीक्षामा ढिलाइ गर्न अदालत समक्ष पनि अपील गरेका हुन् । तर राष्ट्रिय परीक्षा आयोगले निर्धारित तालिका बदल्न अस्वीकार गरेको थियो । यसअघि सर्वोच्च अदालतले पनि अन्ततः सबैले जीवन अघि बढाउनैपर्ने भएकाले विद्यार्थीहरुको करिअरलाई जोखिममा राखेर एक वर्ष खेर फाल्न नसकिने बताएको हो ।

जेइइ परीक्षा इन्जिनियरिङ कलेजमा भर्ना सम्बन्धी रहेको छ र सोमबार भारतभरका ६६० सेन्टरबाट आगामी ६ सेप्टेम्बर सम्म ८ लाख ५० हजार विद्यार्थीले सो परीक्षा दिने बताइएको छ । भारतमा पछिल्ला केही दिन संक्रमण दर दिनदिनै नयाँ रेकर्डमा बढिरहेकाले पनि यसबारे विद्यार्थी र अभिभावकहरुले अधिक चिन्ता व्यक्त गर्दै आएका छन् ।

त्यस्तै अर्को ठूलो परीक्षा, ‘एनइइटी’ ले पनि सेप्टेम्बर १३ देखि परीक्षा सञ्चालन गर्ने बताएको छ जसमार्फत विद्यार्थीहरुको मेडिकल स्कुलमा भर्ना लिइन्छ । दुवै परीक्षामा गरि यस वर्ष २५ लाखले परीक्षा दिने अनुमान रहेको छ । विद्यार्थीहरुले यी दुवै निर्णय विरुद्ध आवाज उठाइरहेका छन् तर परीक्षा आयोगले यस वर्ष धेरैपटक मिति सारिसकेकाले अब यो भन्दा लामो समय पर्खिन नसकिने बताएको हो ।

सबै परीक्षाका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको र प्रत्येक सेन्टरलाई परीक्षा सुरु हुनु अगाडि र पछाडि स्यानिटाइज गरिने बताइएको छ । साथै परीक्षार्थीहरुलाई पन्जा अनि मास्क पनि उपलब्ध गराइनेछ भने तापमान जाँच गराइने व्यवस्था पनि रहेको छ । सेन्टरमा प्रवेश गरेदेखि नै सबै विद्यार्थीहरुले सामाजिक दुरी अपनाएको पनि सुनिश्चित गरिने आयोगले जनाएको हो ।

तर अझैपनि धेरै विद्यार्थीहरु परीक्षा सेन्टरबाट केहीगरी संक्रमण फैलिए, भाइरस घरसम्म आइपुग्ने अनि संवेदनशील समुह जस्तै हजुरबुवाआमा लगायत जोखिममा पर्न सक्नेबारे चिन्तित छन् । कतिले चाहिँ यस्तो अप्रत्याशित समयमा बसेर परीक्षा दिँदा अधिक मानसिक दबाबका कारण नकारात्मक प्रभाव पर्ने पनि बताइरहेका छन् ।
अर्कोतर्फ दुई वर्षदेखि तयारी गरिरहेका विद्यार्थीहरुले चाहिँ छिटो भन्दा छिटो परीक्षा सञ्चालन हुनुपर्ने माग राखिरहेका छन् । यसमा राजनीतिक पार्टीहरुबीचि पनि विवाद चलिरहेको छ । विपक्षी दलका नेताहरुले विद्यार्थीहरुसँग सहमति जनाउँदै गत हप्ता ६ वटा राज्यमा परीक्षामा ढिलाइ गर्न अदालतसँग अपील गरेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार