बाढी प्रभावित क्षेत्र नपुगी फर्किए गृहमन्त्री

बाढी प्रभावित क्षेत्र नपुगी फर्किए गृहमन्त्री

काठमाडौँ । बागलुङको ढोरपाटनमा बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन् ।

बागलुङको ढोरपाटन नगरपालिको-७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् । पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ उडेका थिए । ‘बाढीको अवस्था बुझ्न गएका थियौं ।

मौसमका कारण जान सक्ने अवस्था रहेनछ,’ गृहमन्त्रीसँगै गएका बागलुङका सांसद तथा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘मौसमले साथ नदिएपछि घटनास्थल नजिकै पुगेर फर्किनुपर्‍यो ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बागलुङबाट फर्किएर पोखरा विमानस्थलमा ओर्लिएको गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्किएको जानकारी दिए । बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफू घटनास्थलतर्फ गइरहेको र गृहमन्त्री थापासहितको टोली मौसमका कारण पहिरो स्थलमा पुग्ने अवस्था नभएपछि फर्किएको जानकारी पाएको बताए ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार