तल्लो तहको अधिवेशन  असोजभित्रै : पौडेल–सिटौला पक्ष

तल्लो तहको अधिवेशन  असोजभित्रै : पौडेल–सिटौला पक्ष

काठमाण्डाै १० माघ

२६ मंसिरदेखिको गतिरोध फुकाउन कांग्रेसमा संस्थापनइतरका पौडेल र सिटौला पक्षले निष्पक्ष महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन हुनुपर्ने अडान प्रस्तुत गरेका छन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको दुई पक्षका सिनियर नेता र केन्द्रीय सदस्यको छलफलले ७ फागुन २०७७ मा तय महाधिवेशनको मिति मान्न सकिने गरी छलफल गरेका छन् ।

तर, सो पक्षले तल्लो तहका अधिवेशन असोजसम्म सकाउनुपर्ने गरी कार्यतालिका संशोधनको माग सभापति शेरबहादुर देउवासमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् । यी दुई पक्षको बहिष्कारबीच ११ पुसमा संस्थापन पक्षले १४औँ महाधिवेशनको कार्यतालिका, विभाग गठन, सदस्यताको विषयमा महत्वपूर्ण धारा निलम्बनसहितका निर्णय गरेको थियो । त्यसपछि झन् बढेको दूरी घटाउन सभापति देउवाले केही दिनयता आफैँ अग्रसरता लिएका हुन् । यसै क्रममा शुक्रबार बिहान शीर्ष तहमा छलफल हुनुअघि संस्थापनइतर पक्षले छलफल गरेका थिए ।

‘पार्टीको महाधिवेशन चाँडोभन्दा चाँडो हुने गरी वातावरण बनाउनुपर्छ भन्नेमा हाम्रो छलफल केन्द्रित थियो,’ छलफलमा सहभागी नेता डा. मिनेन्द्र रिजालले भने, ‘महाधिवेशन समयमा हुन्छ भन्ने विश्वसनीय आधार र सबैलाई प्रतिस्पर्धा गर्न बराबरी मैदान हुने गरी अगाडि बढ्नुपर्छ भन्ने भएको छ ।’ अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले ७ फागुनको महाधिवेशनको मिति मान्न सकिने भए पनि असोजसम्म प्रदेश तहसम्मका अधिवेशन टुंग्याउनुपर्ने गरी कार्यतालिका संशोधन हुनुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

पौडेल–सिटौला पक्षले वडाको अधिवेशनभन्दा दुई महिनाअगाडि नै क्रियाशील सदस्यको अन्तिम नामावली प्रकाशित गर्नुपर्ने गरी संस्थापनसँग वार्ता गर्ने निर्णय पनि लिएको छ । सदस्यता वितरणका लागि गरिएको विधानको धारा निलम्बनको निर्णय फिर्ता, विभाग गठन गर्नैपरे विधानअनुसार २८ वटा मात्रै र महाधिवेशनको कार्यतालिका मिलेपछि मात्रै नेविसंघ, तरुण दलसहितको विषय मिलाउनुपर्ने पनि जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार