वडाध्यक्ष धामीको हत्या अनुसन्धानमा सात जना पक्राउ

वडाध्यक्ष धामीको हत्या अनुसन्धानमा सात जना पक्राउ

अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौँदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।

मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो।

बुधबार बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छ जना प्रहरी परिचालन भएको उनले बताए। अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ।

यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेको बताइएको छ।

मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीले बताए।

घटनाको निष्पक्ष छानविनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार