नयाँ आशा: कोरोनाबाट निको भइसकेका व्यक्तिको रगत नयाँ बिरामीलाई दिएर परीक्षण गरिँदै

नयाँ आशा: कोरोनाबाट निको भइसकेका व्यक्तिको रगत नयाँ बिरामीलाई दिएर परीक्षण गरिँदै

द न्यूयोर्क टाइम्स

के कोरोना भाइरस संक्रमणपछि निको भइसकेकाहरूको रगतले अरू बिरामीको ज्यान बचाउन सक्छ?

न्यूयोर्कका डाक्टरहरू अहिले यही परीक्षणमा छन्। उनीहरू अस्पतालमा भर्ना गम्भीर अवस्थाका बिरामीमा यो उपाय परीक्षण गर्ने तयारी गर्दैछन्।

डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही भाइरसले आक्रमण गर्‍यो भने उसको प्रतिरोधात्मक शक्तिले त्यो भाइरसलाई परास्त गर्न सक्छ।

अब तिनै व्यक्तिको रगतमा हुने ‘एन्टिबडी’ लाई कोरोना भाइरससँग जुधिरहेका अन्य बिरामीको रगतमा हालियो भने के होला? के ती नयाँ बिरामीमा पनि रोगसँग लड्ने क्षमता विकास होला?

कोरोना भाइरसजस्तै महामारीको रूप लिएका इबोला र इन्फ्लुएन्जाजस्ता संक्रमण उपचार गर्न दशकौंदेखि यो विधि प्रयोग हुँदै आएको छ।

‘यसले सबै किसिमका संक्रमणमा उस्तै नतिजा देखाउँछ भनेर यसै भन्न सकिन्न। कोरोना भाइरसलाई परास्त गर्न यो विधिले काम गर्छ कि गर्दैन भन्ने हामी परीक्षण गरेर मात्र भन्न सक्छौं,’ परीक्षणमा संलग्न माउन्ट सिनाई अस्पतालका अध्यक्ष तथा प्रमुख कार्यकारी डा. डेभिड एल रिचले भने, ‘हामीले अँध्यारोमा गोली चलाएका होइनौं, तर गोली नचलाई निशाना सही ठाउँमा लाग्छ कि लाग्दैन भन्न सक्दैनौं।’

उनले आफ्नो अस्पतालमा भर्ना कुनै खास किसिमका बिरामीमा मात्र यसको परीक्षण गरिने जानकारी दिए। यसमा मध्यम खालको लक्षण देखिएका र सास फेर्न अप्ठ्यारो हुन थालेका बिरामी पर्छन्। भर्खर लक्षण देखिएको वा जटिल अवस्थामा पुगिसकेका बिरामीलाई परीक्षणमा सामेल गराइने छैन।

‘सही समयमा सही बिरामी चयन गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने, ‘अहिलेलाई यो प्रयोग मात्र हो।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार