भोलीदेखि सातै प्रदेशमा कोरोनाको खोप लगाइने

भोलीदेखि सातै प्रदेशमा कोरोनाको खोप लगाइने

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेललाई बागलुङमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ हस्तान्तरण गर्दै प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका पदाधिकारी। तस्बिर : रासस

काठमाडौं । सरकारले भोली (बुधबार) बाट कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउने तयारी तीव्र बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्नेछन्। यसका लागि तयारी लगभग सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सातै प्रदेशमा खोप पुगिसकेको छ। प्रदेशबाट जिल्लामा पुर्‍याउने काम भइरहेको उनले बताए। गत बिहीबार भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड भ्याक्सिन काठमाडौं आइपुगेको थियो।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार सातवटै प्रदेशमा ४ लाख ३० हजारलाई लागि पुग्नेगरी खोप पठाइएको छ। आज बेलुकासम्म हिमाली केही जिल्लामा बाहेक सबै जिल्लामा खोप पुगिसक्ने महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। गौतमले भने,‘१८ गतेभित्र सबै जिल्लामा खोप पुग्छ।’

त्यस्तै उपत्यकाको हकमा टेकु अस्पताल, वीर अस्पताल, प्रसूति अस्पताल थापाथली, गंगालाल अस्पताल बाँसबारी, नेपाल प्रहरी अस्पताल,त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरीको अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, कोरियन अस्पताल, ठिमी, भक्तपुर अस्पताल, किस्ट मेडिकल कलेज, आनन्द वन अस्पताल र पाटन अस्पतालबाट खोप लगाइनेछ ।

अन्य जिल्लाको हकमा भने जिल्ला अस्पतालबाट खोप लगाइने महाशाखाले जनाएको छ। कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ।

पहिलो डोज दिएको ४ हप्तापछि मात्रै दोस्रो डोज दिने मन्त्रालयले जनाएको छ। सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको यो खोपको ७० प्रतिशत प्रभावकारिता भएको रिपोर्टहरु सार्वजनिक भएका छन्। विज्ञहरुले पनि यो खोप नेपालको लागि प्रभावकारी हुने बताएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार