चौरजहारी । नेपाली काँग्रेस चौरजहारीले आज चौरजहारी बन्दको आह्वान गरेको छ ।
नेपाल बिद्यार्थी संघका नेता दिपेश ओली र दिलबहादुर ओलीलाई माओवादीको युवा संगठन वाईसियलले काँग्रेसको कार्यक्रममा सहभागी भएको आरोपमा आक्रमण गरेर घाईते बनाएको भन्दै त्यसको बिरोधमा नेपाली काँग्रेस चौरजहारी नगर कमिटिले बन्दको आह्वान गरेको हो ।
वाईसियलका चौरजहारी नगर अध्यक्ष लालबहादुर कटुवाल सहित ८ जनाको समुहले ज्यान मार्ने उद्धेश्यका साथ दिपेश र दिलबहादुर माथी आक्रमण गरेर भागेकोले उनीहरुको पक्राउ र कारबाहिको माग गर्दै बन्दको आह्वान गरिएको नेपाली काँग्रेस चौरजहारीका नगर सभापति परमेश्वर भण्डारीले बताउँनुभयो । उहाँले घटनामा संलग्नहरुलाई स्थानीय सरकारले लुकाएर राखेको आरोप लगाउनुभयो । उहाँका अनुसार आज यहाँका सार्वजनिक यातायात, व्यापार व्यवसाय, शैक्षिक सस्था र सम्पूर्ण सरकारी कार्यालयहरु बन्द हुनेछन् ।
बन्दको आह्वान सँगै बजार क्षेत्र बिहानै देखि सुनसान भएको छ । काँग्रेस कार्यकर्ताहरु बिहानै देखि बन्द सफल पार्नको लागि परिचालन भएका छन् ।
गत भदौ २० गते चौजहारीमा भएको काँग्रेसको नगर भेलाबाट फर्कदै गर्दा उहाँहरु माथी मेलैनाउली भन्ने स्थानमा आक्रमण भएको थियो । दुबै जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।

