मासु पसलबाटै महिनामा एक लाख बचाउँछन् भूपेन्द्र

मासु पसलबाटै महिनामा एक लाख बचाउँछन् भूपेन्द्र

भूपेन्द्रबहादुर रोकाया क्षत्री आफ्नो मासु पसलमा। तस्बिरः नारायण खड्का
रूकुमका भूपेन्द्रबहादुर रोकाया क्षत्रीलाई सानैदेखि सेनाको पोशाक खुब मनपर्थ्यो। कोही सेनाको पोशाक लगाएर हिँड्दैछ भने टक्क उभिएर हेर्थे।

मुसिकोट नगरपालिका वडा नं. १० गलमपार्टीका भूपेन्द्रको गाउँनजिक कलेज थिएन। त्यसैले उनी सदरमुकाम खलंगामा कोठा भाडा लिएर प्लस- टु पढ्न थाले। त्यहाँ सेनाहरू परेड खेलेको, दौडिएको देखेर झनै लोभिए।

उनी सेना बन्ने सपना देख्न थाले। प्लस-टु पास गर्दा २१ वर्ष पुगेका उनी सेना बन्ने सोचेर २०६५ सालमा धनगढी पुगे। आवदेन हाले, छानिए। सबै तालिम सकिँदा एक-डेढ वर्ष बित्यो। उनको नियुक्ति बुटवलस्थित भैरवनाथ गणमा भयो।

यसरी सेनाको जागिरमा उनले पाँच वर्ष बिताए।

‘आठ हजार तलबमा जागिर सुरू गरेको थिएँ, पाँच वर्षमा १३ हजार जति पुगेको थियो,’ भूपेन्द्रले भने, ‘पछि मलाई यत्तिको दुःख र मेहनत अरू पेसा-व्यवसायमा गरे त राम्रो कमाइ गर्न सकिन्छ होला भन्ने सोच आयो।’

अनि भूपेन्द्रले उपदानमा जागिर छाडेर अरू नै काम गर्ने सोचे। तर आमाबुवा, दाजुभाइ सबैले बल्लबल्ल पाएको जागिर नछोड्न भने। सबैको सल्लाह मनन गर्दै भूपेन्द्रले जागिरे जीवन र आफ्नो भविष्य केलाए।

‘जागिर खाएर सोचेजस्तो स्वतन्त्र जीवन बाँच्न सम्भव छैन र चाहेजस्तो कमाइ पनि हुँदैन भन्ने निष्कर्षमा पुगेँ,’ उनले झन्डै आठ वर्षअघिको आफ्नो मनस्थिति सम्झिँदै भने, ‘त्यसैले जागिर छोड्ने नै निधो गरेँ।’

जागिर छोड्दा उनको हातमा एक लाख ८० हजार नगद पर्‍यो। केही समयमै उनले आफ्नी प्रेमिकासँग बिहे गरे। उनकी श्रीमती बर्दियाकी हुन्। पाल्पामा अनमी पढ्दै गर्दा बुटवलमा प्रयोगात्मक कक्षा गर्न पुगेकी थिइन्। त्यहीँ उनीहरूको भेट भएर माया बसेको थियो।

बिहेपछि एकाध महिना उनीहरूले घुमफिरमै बिताए। भूपेन्द्रले उपदानमा पाएको पैसामध्ये चालीस हजार सकियो। अब यसरी जीवन चल्दैन, केही नगरी बस्नु हुँदैन भनेर उनले जागिर छाड्नुको उद्देश्य सम्झे।

केही समयपछि उनले कुखुरा फार्म खोले। तुलसीपुरको बिजौरीमा उक्त फार्म बनाइसक्दा उनीसँग तीस हजार रूपैयाँ मात्र बाँकी रह्यो। त्यो फार्म पनि ठूलो बुवाका छोरालाई हेर्ने जिम्मा दिए।

उनले बचेको त्यही तीस हजार लगानी गरेर तुलसीपुर बजारको ट्राफिक रोडमा सानो मासु पसल खोले-बिबिसी मिट सप।

बिबिसी अर्थात् भूपेन्द्रबहादुर क्षत्रि। उनका पूर्व शिक्षक बुवाले सानैमा उनलाई यो छोटकरी नाम दिएका थिए।

सुरूका दिनमा उनले दुइटा मात्रै जिउँदो कुखुरा ल्याएर काटे। बिस्तारै चार, छ, दस गर्दै बढाउँदै लगे। आज उनको पसलमा लोकल, ब्रोइलर कुखुरा, हाँस, माछा पाइन्छ। ब्रोइलर कुखुरा मात्र दिनकै सय केजीभन्दा बढी बिक्छ।

सात वर्षको अन्तरालमा उनले धेरै ग्राहक कमाइसके। पसलमा साँझ-बिहान पालो कुर्दै लाइन बस्नुपर्ने अवस्था रहन्छ। योबाहेक तुलसीपुरकै बाहिनी चोक र बरुवा गाउँमा पनि उनले मासु पसल खोलिसकेका छन्।

बरुवाको पसल भूपेन्द्रकी श्रीमती र कान्छा भाइले हेर्छन्। उनका भाइ पढ्दैछन्। पढाइ अनमी भए पनि श्रीमतीले छ वर्षे छोरीको रेखदेख गर्न भनेर जागिर गरेकी छैनन्।

‘हाम्री छोरी मेनेन्जाइटिसकी बिरामी छिन्,’ भूपेन्द्रले भने, ‘त्यसैले उनकी आमा छोरीको रेखदेख गर्दै हामी बस्ने घरको कोठामै मासु पसल चलाउँछिन्। उनलाई सघाउन एक जना सहयोगी छन्।’

बाहिनी चोकको पसल उनले सहयोगीकै भरमा चलाएका छन् भने आफू बस्ने पसलमा पनि एक सहयोगी राखेका छन्।

‘म बिहानदेखि बेलुकीसम्म खट्छु। बिहान चार बजे उठेर आउँछु र राति नौ बजेतिर मात्रै घर पुग्छु,’ ३१ वर्षीय भूपेन्द्रले भने, ‘अहिले तीन पसलबाट सबै खर्च कटाएर महिनामा एक लाख बढी मज्जाले बचिरहेको छ।’

यसबीच उनले तुलसीपुर-१२ मा २० लाख बढी पर्ने एक कठ्ठा घडेरी किने छन्। बरुवामा गत वर्ष ५५ लाखको १२ धुर अर्को घडेरी जोडे।

‘छोरीको उपचारमा पनि धेरै खर्च हुन्छ। मेहनत गरेको भएर यो फल पाइएको छ,’ उनले भने।

भूपेन्द्र नम्र छन्। उनको बोली-व्यवहारले धेरै ग्राहक उनीसँग खुसी हुन्छन्। त्यसैले लाइन लागेर भए पनि बिबिसी मिटसपमै मासु किन्ने ग्राहक धेरै भएको उनले बताए।

‘मेरो पसल हेर्दा सामान्य छ। तर यहाँको सफाइ, व्यवहार राम्रो हुनु र चाहनाअनुसार मासु दिने भएकाले धेरै ग्राहक मेरोमा आउनुहुन्छ जस्तो लाग्छ,’ भूपेन्द्रले भने, ‘जसले जस्तो मासु खोज्नुहुन्छ म त्यही दिन्छु।’

आफूले घरमा खाने र ग्राहकलाई दिने मासुमा अन्तर नगरेकाले पनि धेरैले आफूलाई विश्वास गरेको अनुमान उनी लाउँछन्। उनले एक किलो मासु तयार पारेर ग्राहकलाई बेच्दा जम्मा ३०/३५ रूपैयाँ मात्र मुनाफा लिने पनि बताए। तर एक किलो माछाबाट ८० देखि एक सय रूपैयाँ नाफा हुन्छ।

‘मैले जागिरे जीवनबाट धेरै कुरा सिक्न र बुझ्न पाँए। मेहनत र धैर्य गर्नुका साथै निरन्तरता र अनुशासन पनि सेनाको जागिरबाटै सिकेँ,’ उनी भन्छन्, ‘कुनै पनि कुरामा इमानदारीपूर्वक निरन्तर मेहनत गर्ने हो भने सफलता मिल्ने रहेछ।’

कुनै बेला छोराले जागि छोड्दा रिसाएका उनका आमाबुवा पनि अचेल दंग छन् रे।

भूपेन्द्रले पनि अब आफ्नो भविष्य यसमै देखेका छन्। समयअनुसार आधुनिक उपकरण थप्दै जाने र फ्रोजन मिट पनि उपलब्ध गराउने योजना उनको छ। सेतोपाटीबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार