बैशाख ३ काठमाडौ
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतकुमार शर्माले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका प्रयासबारे जानकारी लिन प्रजिअ शर्माले गुल्मी जिल्लाका १२ वटै स्थानीय निकायका प्रमुख प्रशासकिय अधिकृतसँग भिडियो संवाद भएको उजेली न्यूज डटकम सँग टेलिफोनमा बताउनु भएको छ ।
एकीकृत भिडियो संवादमा स्थानीयतहका प्रमुख प्रशासकिय अधिकृतहरुले आ-आफ्नो स्थानीयतहले अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराउनुका साथै भारतलगायत देशबाट गुल्मी जिल्लामा आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको प्रजिअ शर्मालाई जानकारी गराएका थिए।
यस्तै संवादमा प्रमुख प्रशासकिय अधिकृतहरुले क्वारेन्टाइनमा खटाउने जनशक्तिको अभाव रहेको जानकारी गराएका थिए । प्रजिअ शर्माले क्वारेन्टाइनमा रहेकालाई र्यापिड डायग्नोस्टिक टेष्ट गराएर मात्र घर पठाउने, क्वारेन्टाइनमा रहेकाहरुको खाना तथा बस्नलाई उचीत प्रबन्ध मिलाउन, लकडाउनलाई चुस्त बनाउने, सवारी पास व्यवस्थित बनाउन स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई निर्देशन दिनुभएको थियो ।
साथै प्रमुख जिल्ला अधिकारी शर्माले प्रमुख प्रशासकीय अधिकृतहरुलाई सामाजिक दुरीलाई कायम राखेर दैनिक काम काज गर्ने आग्रह गर्नुभएको थियो । खाद्यान्न सामाग्रि वितरण गर्दा निश्चित मापदण्ड बनाएर भिडभाड नगरी बिक्रि वितरण गर्ने, बजारमा खाद्यान्नको मौज्दात र सोको परिमाणको विवरण लिएर कम्तिमा ३ महिनालाई पुग्ने स्टक बनाउने विषयमा छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी शर्माले बजारमा कृत्रिम अभाव हुन नदिने, नियमित बजार अनुगमन गर्ने, कालोबजारी भएको खबर सुचना दिन आग्रह गर्नुभएको थियो ।
गुल्मी जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट १ हजार ७ सय प्रवेश गरेका छन् ।


 
					
							 
			 
                             
                             
                             
                             
                            