अस्वस्थ भएकोले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीबाट अलग भए : न्यायाधीश रावल

अस्वस्थ भएकोले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीबाट अलग भए : न्यायाधीश रावल

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले आफू अस्वस्थ भएकाले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीबाट अलग भएको बताउनु भएको छ ।

निर्वाचन आयोगले सोमबार न्यायाधीश रावलको ठाउँमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई भरतपुरको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । न्यायाधीश रावलले स्वास्थ्यमा असहजता आएकाले निर्वाचन आयोगलाई गरेको आग्रह अनुसार नै जिम्मेवारी परिवर्तन भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गर्नुभएको छ ।

२६ चैत बेलुकादेखि आफूलाई रिङ्टा (Dizziness) लाग्ने र बमन (Vommiting) हुने समस्या देखिएको र दुई दिन अस्पताल बसाइपछि अहिले घरमै आराम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

‘स्वास्थ्य अवस्थामा तत्काल पूर्ण सुधार आई नसकेको अवस्थामा थप केही दिन घरमै आराम गर्नुपर्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम म अहिले घरमै आराम गरिरहेको छु । मेरो यो असहज अवस्थामा मैले निर्वाचन आयोगमा गरेको अनुरोध बमोजिम नै निर्वाचन आयोगबाट हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषदबाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सुचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मुख्य निर्बाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अवस्था हो’ उहाँले लेख्नुभएको छ ।

यस्तै उहाँले निर्वाचन आयोगको निष्पक्षता र अन्य राजनीतिक दलप्रति अन्य टीकाटिप्पणी नगर्न पनि उनले अनुरोध गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार