चुनाव प्रचारमा बालबालिकालाई प्रयोग नगर्न अपिल

चुनाव प्रचारमा बालबालिकालाई प्रयोग नगर्न अपिल

फाईल तस्बीर

मुसिकोट । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा लागेका राजनितिक दलहरुले चुनाव प्रचार प्रसारको समयमा बालबालिकाको प्रयोग गरेको भन्दै रुकुम पश्चिमका बिभिन्न सामाजिक संघ संस्थाले ध्यानाकर्षण गराएका छन् । चुनाव प्रचारको समयमा बालबालिकाको प्रयोग गर्न नपाईने भए पनि वालवालिकाको प्रयोग भएको पाईए पछि जिल्लामा रहेका बिभिन्न १२ वटा संघ संस्थाले ध्यानाकर्षण गराएका हुन् ।

बिहिबार एक संयुक्त अपिल जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सबै सरोकारवाला निकायहरुको भुमिका महत्वपूर्ण रहने भन्दै बालबालिकाहरुको प्रयोग नगर्न भनिएको छ । कलिलो मष्तिस्क भएका बालबालिकालाई चुनाव प्रचारमा प्रयोग गर्नु बालअधिकारको हनन् भएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित सबै पक्ष यस तर्फ सचेत हुन, बालअधिकारको हनन् नगर्न र बालबालिका शान्ति क्षेत्र भएकोले राज्यले यस्ता गलत कार्यहरु रोक्नको लागि उचित पहल चाल्न पनि आग्रह गरिएको छ । निर्वाचन आचार संहिता, २०७८ को बुँदा नम्वर ४ र १२ मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ बर्ष बर्ष पुरा नभएका बालबालिकालाई प्रयोग गर्न नहुने भनेर स्पष्ट व्यबस्था गरेकाले यस्ता क्रियाकलाप तत्काल रोक्न माग गरिएको हो ।

यसरी अपिल जारी गर्ने संस्थाहरूमा नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ रुकुम, गैरसरकारी संस्था महासंघ, रुकुम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस), रुकुमेली समाज विकास केन्द्र, ओरेक रुकुम, महिला मानव अधिकार रक्षक संजाल, इन्सेक रुकुम र मिक नेपाल रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार