रुकुम पश्चिममा कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

रुकुम पश्चिममा कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनी

मुसिकोट । मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकताबीच पुन: झडप भएको छ । झडपका क्रममा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रचारप्रसारमा प्रयोग गरिरहेको मोटरसाइकलमा आगजनी गरेका छन्।

सोमबार दिउँसो आठविसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा माओवादीका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनीसँगै अरु सवारी साधनमा तोडफोड गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बिहान १० बजे माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रम भइरहेका बेला कांग्रेस र माओवादी कार्यकर्ताबीच आमनेसामने भएको थियो।

चुनावी प्रचारप्रसारमा गएका आफ्ना कार्यकर्तामाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेको नेपाली कांग्रस रुकुम पश्चिमको आरोप छ ।

घरदैलोका क्रममा आमनेसामने भएपछि कांग्रेसका कार्यकर्ताहरु आफूले प्रयोग गरेका मोटरसाइकल तथा जिप छोडेर भागेका थिए। उनीहरु भागेपछि माओवादी कार्यकर्ताले ती सवारी साधनमा आगजनी गरेका हुन्।

घटनामा कांग्रेस कार्यकर्ताले प्रयोग गरेको भे ८ प ३६२० नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ। आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रुपमा क्षति भएको रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।

यस्तै भे ७ प ३०६५ नम्बरको मोटरसाइकल माओवादी कार्यकर्ताले सडकबाट खसालिदिएका छन्। रा ४ प १८७० नम्बरको मोटरसाइकलको लुकिङ ग्लास फुटाइदिएका छन्।

सोही स्थानमा कांग्रेस कार्यकर्ताले छोडेर भागेको लु १ ज २६६८ नम्बरको जिपको सबै सिसाहरु फुटालिदिएका छन्।

यस्तै आइतबार नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले दुबै दलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको संयुक्त अपिल जारी गरेका थिए ।

यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार