बैशाख ६ काठमाडौ
सर्वोच्च अदालतले घर जान भनेर हिँडेकालाई गन्तव्यसम्म पुर्याइदिन वा घर नपुर्याए जो जहाँ छन् त्यहीँ उचित खाना र बस्नेको व्यवस्था गरिदिन सरकारलाई आदेश दिएको सँगै थानकोट प्रहरीले त्रिभुवन पार्कमा राखिएकालाई आ आफ्नो गृहजिल्लामा पठाएको छ।
घर जान भनेर उनीहरू विभिन्न ठाउँबाट हिँडेर हिजो र आज थानकोट आइपुगेका थिए। उनीहरूलाई त्रिभुवन पार्कको क्याम्पमा राखिएको थियो। आज भने सबैलाई आ(आफ्नो गृहजिल्ला पठाइएको प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
‘हिजो र आज नागढुंगा नाका भएर बाहिरिनेलाई त्रिभुवन पार्कमा क्याम्प खडा गरी खाना बस्ने व्यवस्थासहित राखेका थियौं’, उनले भने, ‘तीन सयभन्दा बढीलाई आठ वटा गाडीमा राखेर पठाएका छौं।’
दोलखा र सिन्धुपाल्चोक जिल्लाबाट हिँड्दै आएका उनीहरू जाजरकोट, बैतडी, बाँके, बर्दिया, सल्यान, नेपालगञ्ज, बुटवल चितवन, पाल्पा, पूर्वमा महोत्तरी, सर्लाही, बारा, पर्सा, हेंटौडा लगायत जिल्लाका हुन्।