दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने

दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने

सरकारले यो वर्षको दशैंका लागि करिब साढे ६ करोड मूल्य बराबरको ३ हजार खसी र च्याँग्रा खरिद गर्ने भएको छ ।

पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसका लागि ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कम्पनीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘आज बसेको बैठकले रकम विनियोजनको निर्णय गरेको हो, साथै सुपथ मूल्य बजार सञ्चालन सञ्चालन गरिनेबारे पनि छलफल भयो,’ कम्पनी उच्च स्रोतले भन्यो, ‘विनियोजित रकमबाट दुई हजार गोटा खसी र एक हजार च्याँग्रा खरिद हुने अनुमान गरिएको छ ।’

रकम अपुग भए थप गर्ने तर यस वर्ष च्याँग्रा पनि बिक्रीमा राख्ने गरी तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले कोभिड-१९ का कारण पछिल्लो तीन वर्षदेखि दशैंमा च्याँग्रा बिक्री गर्न सकेको थिएन ।

यस्तै असोज लागेपछि नै पहिले कै स्थानमा यस वर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नेबारे पनि आइतबारको बैठकमा छलफल भएको थियो । तर, निर्णय भने भइसकेको छैन । कम्पनीले सहुलियत पसलमा राख्ने सामानको सूची तयार पार्ने, सरकारी स्वमित्वका अन्य संस्थानले बिक्री गर्ने वस्तुलाई पनि सुपथ बजारमा ल्याउने र कुन वस्तुमा कति छुट दिने भन्नेबारे भने पछि निर्णय गरिने कम्पनीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार