मेरो सम्झनामा हाम्रा बा

मेरो सम्झनामा हाम्रा बा

पुराना पाटी पौवामा पढाउंदाका शिक्षक
पंचायतका जनप्रतिनिधि
सदस्य भएका वेला
को मान्ठ आफ्नै कारणले झुन्डी मरेको केसमा
सल्यान गौँडा सदस्यको रुपमा वयान दिन जान धौ मानी
राजनीति र जनप्रतिनिधिबाट सन्यास लिएका
घुम्ती व्यापारमा पनि लागेका
कपडाको कुम्लो बोकी
गाउँ गाउँ चहार्ने उहिल्यैका परम्परागत ब्यापारी
ब्यापारमा पनि खासै राम्रो नभै
इन्डियातिर टाप कसेका
इन्डियामा कुनै अंग्रेजी स्कुलमा सेक्युरिटी बसेका
गाड बस्दाबस्दै
उतिखेरै सामान्य अंग्रेजी जानेका
स्कुलको मालिकले
नेपालको सर्टिफिकेट ल्याएमा
टिचर हुन्छस जा ल्या भन्दा
नेपाल फर्की आएका
नेपालमा सर्टिफिकेट पाउन नसकी
यतै रुकुम सोलाबाङ्गतिरै
खेती किसानीमा लागेका
पुराना पुस्ताका अग्रज हाम्रा बा ।

सोझा र प्रष्ट स्वभावका
कुटनीति विल्कुल नभएका
पेटमा केही न गुट्मुट्याई
सिधासिधा सोझै प्रष्ट कुरा गर्दा
कतिपयले बालाई मुखको छुच्चो भने होलान
तर हाम्रा बाले
जानीजानी कसैलाई अन्याय गरेनन
जानी बुझी कसैलाई पाप गरेनन
योजनावद्द कसैलाई विभेद गरेनन्
गाउंको गनिएको जैसी भएर पात्रो हेरे
सय बर्ष भन्दा बढीका पात्रो राखेका
उहिल्यैका अर्कै नबुझिने अक्षरका
विभिन्न लेखोटहरु सुरक्षित गरेका
इतिहासका जानकार हाम्रा बा
वर्तमानका यथार्थवादी र
भविष्यका अनुमानकर्ता हाम्रा बा ।

माथी घरको कोठापट्टी
मही पार्दै थे बाले उहिल्यै ३७ बर्ष पहिले
मैले भने बा मलाई अंग्रेजी सिकाइदेउ न
बा मलाई दुना सिकाइदेउ न
बा मलाई लेख्न सिकाइदेउ
बाले भने म अहिले मही पार्न लागेको छु
एक छिन पख भन्दा मान्दैनस्
लखा ! चटङ्ग गालामा चड्कनी
गालो सुम्सुमाउंदै बाहिर आएँ म
यसो सम्झंदा हाम्रा बाका चड्कन यस्तै हुन्थे
एकपटक तिहारको भैली खेल्ने बेला
भैली खेल्दै आयौँ हाम्रै घरमा
बाले लेखेको भैली सरर हेरे
यो कोले लेख्या हो भनी प्रश्न गरे
बाबै मैले लेख्या हो म उफ्रिएँ
तर बाले फेरि मैलाई चड्काए
म बोल्ने कुरा भएन
किन हाने अनुमान भएन
बाले आफै भने अशुद्ध लेखिछस्
हत्तेरिका बाले के कुरा गर्छन
के हो शुद्ध के हो अशुद्ध
अहिले त थाहा छैन के थाहा उतिखेर
व्याकरण समेतमा चासो राख्ने
उहिलैका शिक्षीत हाम्रा बा ।

बाको माया भावनात्मक
कहिलेकाहीँ बाले मलाई लुकाई छिपाई
गुरका डल्ला र मिश्री दिन्थे
ल खा कान्छा भन्थे
बाले दिएका गुर र मिश्रीका डल्ला
हप्ता दिनसम्म फारो गरिगरी खाइन्थ्यो
बाले उत्प्रेरणा पनि दिन्थे
नुन ल्याउन हटारी डोको बोकी
सल्यान श्रीनगर मुलको गडबरो
अनि खरिबोट बाङ्गेलाखुरीसम्म
बासंग पुगियो कैयन पटक
लौराबाङ्ग खोलाबाट खौला उक्लिंदा
जंगलको वीचमा बाले
यो अन्तिम उकालो हो जोड गर कान्छा भन्थे
अनि खालाई गुरका डल्ला भन्दै
उत्प्रेरणा र प्रोत्साहन थप्थे
बा रसिक पनि थिए
बाले हाट जाँदा गीत पनि गाउँथे
सिलुक पनि हाल्थे
रमाइला कथा र कहानी सुनाउथे
बा जोखिम मोल्न पनि तयार
बासंग म कान्छो लुरुलुरु झोला बोकी
जालखेल्न गइन्थ्यो साँझपख
बा मुग्लुखोलाको किनारैकिनार जाल हान्दै आउने
म खोला वारीवारी बाको झोला बोकी लुरुलुरु गर्थेँ
बैरागी ठाँटीमा बा एकछिन हाँसो ठट्टा गर्थे
बाले हाँसो ठट्टा गर्ने होटलवाला पनि बितिसके
तर सम्झना ताजै छ उनै दिनको
उहिल्यै जमानाका
रसिक र रमाइला हाम्रा बा ।

बा दार्शनिक र सैद्धान्तिक रुपमा
धेरै भौतिकवादी र थोरै अध्यात्मवादी
नास्तिक भित्र आस्तिक र आस्तिकमा नास्तिक
मिश्रित विचारका अनुयायी बा
बाले देश विदेशको समाचार पनि बिग्नै सुन्ने
बाले रुपैडियाबाट ल्याएको फिलिप्स रेडियो
सिरानीमै राखेर रनवन घन्काउंथे
समाचारहरु दैनिक सुन्थे
रेडियोसंगै माथिल्लो तला
रेडियोसंगै तल्लो तला गर्थे
बा खाना पाकेपछि मात्र भान्सामा झर्ने
पहिलो रोटो बाले खाएपछि मात्र
बाँकी जनलाई बाटो खुल्थ्यो
बा हरेक दिन रोटा खाने बेला
भान्साको उद्घाटन गर्ने प्रमुख अतिथि हुन्थे
ठुलो र संयुक्त परिवार
२२ जनासम्मको भान्सा चलेको संस्मरण छ
बाको भात खाने थाल काँशको हुन्थ्यो
पानी खाने अम्खोरा अलग थियो
बा खाना खानेबेला
अम्खोराभरी पानी कर्लककर्लक पार्थे
खाना खाइसकेर खाएको थाल कहिल्यै उठाउंदैनथे
रेडियो घन्काउंदै भरेङ्गमा धमकधमक उक्लिन्थे
बाले बहुमतलाई सकेसम्म नजरअन्दाज गर्न खोज्थे
आफ्नो विचार निर्णायक बनाउन खोज्थे
हाँसो गर्दै हामी बालालाई सभामुख भन्थ्यौ
बाको बोली अन्तिम हुन्थ्यो
बाको शासन प्रशासन कडा नै हुन्थ्यो
बा धेरै त विरामी पर्दैनथे
कहिलेकाही बरङ्ग तताउंथे
बा अध्यात्मिक पनि थिए
बालाई कुनै कुराले डिस्टर्ब गर्यो भने
बा माथिल्लो सुत्ने कोठाबाट
हौत हौत हौत हौत भन्दै तल्लो तला ओर्लिन्थे
घरमा भङ्गमुनी भैसी गाई बाख्रा भेरा हुँदा
हाम्रो भान्सा माथिल्लो तला
पछि गोठ निर्माण भएपछि
भान्सा तल्लो तला
बा हौत हौत भन्दै तल्लो तला ओर्ली
चुलामा सल्किरहेको
लपलप लफ्को निकालिरहेको अगुल्टो निकाल्थे
अनि अगुल्टो लफ्फाउंदै
हौत हौत आयो मष्ट दारे मष्ट
भन्दै घरभरी अगुल्टोले हल्लाउंथे
अनि दारेमस्ट पितर मसान
भन्दै अगुल्टो रिङाउंदै
काम्दै उफ्रिदै घरभन्दा पर
स्यानो पाटो भन्ने ठाउंसम्म
भुत पिशाच लखेटेर
फर्किन्थे हाम्रा बा ।

बा अली फुर्ती लाउन पछि नपर्ने
हँ म त संसार घुमेको मान्ठ
म काँ गन्छु तिमीहरुलाई
तिमीहरुको कमाई काँ खान्छु
म त आफै गरी खान्छु
बाले आफ्नै छुट्टै जिम्दार चलाए
चारभाई छोराहरुसंग बसेनन
आमा र बा जीवनभर
आफैले २०२२ सालमा बनाएको घरमा बसे
बा आमाले आफै खेतीपाती गरे
कामकाज गरे
आफ्नै परिश्रमममा
आफ्नै किसिमको जीवन गुजारे
अर्काको आश्रयमा नबस्ने
आफ्नै स्वभावका
मौलिक परिश्रमी र उत्पादक हाम्रा बा ।
पछिल्लो समय बा
असी काटेपछि
सामान्य स्वाँस्वाँले सताइए
अक्सीजनको अभावले गर्दा
सबैको सल्लाहमा
घरमै अक्सिजनको मेसिन ल्याइयो
बाले अक्सिजन खाँदै
बजार आवतजावत गरे
खेतीपाती बारीकान्लातिर घुमफिर गरे
तर उमेरको प्रवाहसंगै बा खुम्चिदै गए
तर बाको जिब्रो कहिल्यै थलिएन
बालाई म बुढो भएँ भन्ने मनोभाव कहिल्यै जागेन
जन्मेपछि हरेक जीवित प्राणी एकदिन विदा हुने
प्राकृतिक रहस्य र अनिवार्यतालाई पनि
बाले पत्याउन चाहेनन
जन्म मृत्युको सार्वभौम नियमलाई सहज स्वीकारेनन
बाको जाँगर कहिल्यै थलिएन
बाले जानुभन्दा अघिल्लो दिनसम्म
खेतीपातीकै कुरा गरे
कामकाजकै कुरा गरे
परिश्रमकै कुरा गरे
उत्पादनकै विषय उठाए
कुलो पानी घाँस दाउरा
फेरि पनि के के खेती गर्ने
के के को बिउ चाहियो
हलानो फलानो बेर्ना चाहियो भनिरहे
उहिल्यैका नामुद कृषक बा
विभिन्न प्रतियोगितामा पुरस्कार समेत थाप्ने बा
कृषि सम्बन्धी देशका विभिन्न भागमा भ्रमण गर्ने बा
कृषि समुहहरु उपभोक्ता समितिहरुमा नेतृत्व गर्ने बा
वित्नुको अघिल्लो दिनसम्म कृषि खेतीकै कुरा गरिरहे
तरकारी विउविजनकै कुरा गरे ।

कहिल्यै हरेश नखाने बा
के सुर जाग्थ्यो बालाई
आफ्नै अड्डी कस्थे
बुवा सानो प्लेनमा नेपालगंज
नेपालगंजबाट ठुलो प्लेनमा काठमाडौँ जाउँला भन्दा मान्दै नमान्ने
म प्लेन र पाइलटको भर पर्दैन
बरु गाडीमै जान्छु चाँरो
बसमै जान्छु भन्दै आफै गाडीमा चढ्ने
गाडी र बसमा यात्रा गर्ने अवस्था थिएन
बीच बाटोमै समस्या हुने अवस्था
चौरासी काटी पचासी लागेका बा
आफ्नै ढिपीमा कतिपटक निस्किए
आफ्नै ढिपीमा गाडी चढे
आफ्नै ढिपीमा आवतजावत गरे
चेक गराउंदा रोग केही नदेखिएका बा
घरमा आराम गर्नुपर्नेमा
कता जाउँ के गरुँ भन्ने आलसतालस गरिरहे
कहिल्यै बस चढेका बालाई फिर्ता ल्याइयो
कहिल्यै हिड्न लागेका बालाई सम्झाई बुझाई गरियो
तर बाले हाम्रो कुरा मान्ने होइन
बा आफ्नै कुरामा मग्न
हिड्न गाह्रो छ बोक्छौँ हामी बा भन्दा
हँ म क्या बोकिमाग्न्या मान्ठ हो
बा स्टेचरमा राख्छौँ सजिलो हुन्छ
हँ म क्या बिरामी हो
बाका कुरा यस्ता हुन्थे
बा आफ्नै आत्मविश्वासमा मग्न
आफ्नै निर्णयमा अडीग
बाले पछिल्लो समय
आफ्नो लहड सुधारी साधा भोजन गरेको भए
साकाहारी रहनसहन गरेको भए अंझै ५।७ बर्ष
हाम्रा बा सकुशल हुन्थे होला
तर हाम्रा बाले २।३ दिन अघिसम्म
खलंगाबाट दुइ प्लेटका दरले मम मगाए
बजारको चिल्लो चुपिलो खट्टो पिरो चाउमिन बजाए
बाले जे जे भेटे त्यही त्यही हजम पारे
बाको पेट एकदम पक्का
दाँत त पछि हालेका पुरै सेट
जे पायो त्यही चवाउने
जे खायो त्यही पचाउने
बरु हाम्रो पेट गडबड होला
बाको पेट गडबड भएको इतिहास शुन्य
तर पनि बाको उमेर त डांडामाथि
तर पनि बाले खानपिनमा कुनै कमी गरेनन
लताका लाइन खाए लताका लाइन पचाए पनि
बाको दिसा पनि
मिलमा पिंधेको पिनाजस्तो
पाचन शक्तिका अब्बल बा
तर पनि उमेर पचासी
पचासीको उमेरसम्म बाले हामीलाई कुनै दुख दिएनन
आफ्नो जिन्दगी आफै चलाउने
आफ्नो जीवन आफै स्याहार्ने
स्वतन्त्र¸ स्वावलम्वी
र आत्मनिर्भर हाम्रा बा । क्रमश : ……..

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार