आठबीसकोटमा पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको जीवितै उद्धार

आठबीसकोटमा पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको जीवितै उद्धार

मुसिकोट । रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिका वडा नम्बर १४ पिपलचौरमा आईतबार आएको पहिराेमा परेर आमाछोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ ।

पिपलचौरमा रहेको सामुदायीक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले बताउनुभयो । घटनास्थलबाट वडा अध्यक्ष पुनले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा जाजरकोट भेरि नगरपालिका वडा नम्बर १ मैदेकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका छन् ।

पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ ।

आईतबार बिहान जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । सोहि समयमा भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् । नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताउनुभयो । घाईते तिर्सनालाई एम्बुलेन्स मार्फत जाजरकोट अस्पताल लिईएको छ ।

यस्तै वडा अध्यक्ष पुनका अनुसार पहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेकाे छ । पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ । पहिरोसँगै आएको बाढीले स्थानीयका केहि घर जोखिममा छन् भने धानखेती बगाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार