सिडिओसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

सिडिओसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै १३ जनाविरूद्ध मुद्दा दायर गरेको अख्‍तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले उनीहरूविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालयका तत्कालीन प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरूद्ध मुद्दा दायर गरेको हो।

यस्तै, गायत्रीदेवी जयसवाल, उनका छोरा शत्रुधन, बिचौलिया सुमनकान्त ठाकुर, उपेन्द्रलाल कर्ण कायस्थ, मनोजलाल कर्ण, सूर्यनारायण लालकर्ण, जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार डि. हविव साह, गुठी संस्थानका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोदकुमार कर्णविरूद्ध मुद्दा दायर गरेको हो।

धनुषाको साविक भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता भएकाले कारबाही गरिदिन भन्दै अख्तियारमा उजुरी परेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार