पत्रकार केसीद्वारा जन्मदिनको अवसरमा एचआईभी पीडित परिवारलाई सहयोग

पत्रकार केसीद्वारा जन्मदिनको अवसरमा एचआईभी पीडित परिवारलाई सहयोग

मुसिकाेट । जन्मदिनलाई फजुल खर्च गर्ने बानीलाई तोड्दै रुकुम पश्चिमका एक पत्रकारले उदाहरणीय काम गर्नुभएको छ । पत्रकार भुवन केसीले जन्मदिनको अवसरमा एचआइभी संक्रमित एक परिवारलाई खाद्यन्न प्रदान गर्नुभएको छ ।

रेडियो यूनिक एफएमका स्टेशन म्यानेजर केसीले मुुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कष्टकर जीवनयापन गर्दै आउनुभएकी ७० वर्षिय लक्ष्मी सुनारको परिवारलाई सहयोग गर्नुभएको हो । उहाँका छोराबुहारी एचआइभी संक्रमति हुन् ।

कष्टकर जीवनयापन गरिरहेको उक्त परिवारलाई जन्मदिनको अवसर पारेर सहयोग उपलब्ध गराएको पत्रकार केसीले बताउनुभयो । जन्मदिनलाई फजुल खर्च गरेर क्याफे, रेष्टुरेन्टमा मनाउनुभन्दा अभावमा दिन व्यतित गरिरहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नु उत्तम ठानेर आफुले सहयोग गरेको उहाँले बताउनुभयो । जन्मदिनको खर्चले उक्त परिवारलाई सहयोग गर्न पाउँदा गर्वको अनूभूति भएको पत्रकार केसीले उल्लेख गर्नुभयो ।

सहयोग प्रदान कार्यक्रममा मुसिकोट नगरपालिका ६ का वडा अध्यक्ष भानु मल्लले पत्रकार केसीले पुण्यको काम गरेको बताउनुभयो । उहाँले आफ्नो जन्मदिनको मौकामा कठिनाईपूर्वक बाँचिरहेका परिवारलाई यसरी सहयोग गर्नु उदाहरणीय काम भएको वडा अध्यक्ष मल्लले उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जन्मदिनको अवसरमा मानवीय कार्य गरेको बताउनुभयो । उहाँले गाउँ, टोलका सर्वसाधारणहरुको दैनिकी उजागर गर्नुका साथै उनीहरुको समस्या बुझेर पत्रकारले नमूना काम गर्ने गरेको उल्लेख गर्नुभयो । पत्रकार केसीले आफ्नो जन्मदिनमा तडकभडक र भड्किलो खर्च नगरेर पीडामा बाँचेका परिवारलाई साँझ बिहानको छाक जुटाउन सहयोग गर्नु उत्कृष्ट काम भएको समेत अध्यक्ष केसीले जनाउनुभयो ।

पीडित परिवारलाई १५ हजार मूल्य बराबरको दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नुन, तेल, बेसार, पिठो, बिस्तरा, सिरक हस्तान्तरण गरिएको हो । सानो झुपडिमा तीन जनाको परिवारले कष्टकर जीवन बिताईरहेका छन् । दैनिक छाक टार्न समेत उनीहरुलाई मुश्किल हुने गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार