रावलको प्रतिबद्धता : १२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता

रावलको प्रतिबद्धता : १२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता

रुकुमकोट । रुकुम (पूर्व) प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गर्नुभएको छ ।

आइतबार रुकुमकोटमा आफनो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो । १२ कक्षा पास गरेका हरेक युवा युवतीलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ’ उहाँको प्रतिबद्धतापत्र छ ।

व्यापार–व्यवसाय गर्न इच्छुकलाई परामर्श सेवा जिल्ला स्तरमा उपलब्ध गराउने र सुरुवाती पूजीँ अभाव हुन नदिन विना धितो स्वरोजगार ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि उहाँको प्रतिबद्धता छ ।

बेरोजगारलाई सीपमुलक तालिम दिने, परम्परागत सीपलाई आधुनिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने, सिल्पी समुदायको सीप क्षमतालाई स्तरकरणी गर्दै आरन, सुनचाँदी पसल, सिलाइ बुनाइ, हस्तकला, गार्मेन्टहरुको विकास गर्ने लगायतका प्रतिबद्धता रावलको छ ।

स्वास्थ्यतर्फ प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध गराउने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, सबै प्रकारका खोप निःशुल्क उपलब्ध गराइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

आधारभूत शिक्षालाई अनिवार्य गर्ने, किसानहरुलाई नगदेवालीमा प्रोत्साहन गर्ने, वास्तविक किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने, किसानहरुले उत्पादन गरेका सवैखाले उत्पादित वस्तुहरु संकलन गर्न कम्पनी लिमिटेड बनाइ उचित मुल्यमा गाउमै खरिद गर्ने व्यवस्था गर्ने घोषणा छ ।

यस्तै स्वच्छ खानेपानी सहितको ‘एक घर–एक धारा’ अनिवार्य व्यवस्था गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार