राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने जेलमुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशबमोजिम २० लाख धरौटी बुझाएपछि सन्दीप दिउँसो ३ बजे केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।
नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई धरौटीमा छाड्न बिहीवार उच्च अदालतले आदेश दिएको थियो ।
धरौटीमा रिहा भए पनि सन्दीपको मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन ।
जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले जेलमुक्त गर्नुअघि उनलाई तारेखका लागि अदालत पुर्याइएको थियो ।
जेलबाट बाहिरिने क्रममा सन्दीप हँसिलो मुद्रामा देखिएका थिए ।
उनलाई स्वागत गर्न परिवारका सदस्य, उनका कानून व्यवसायी र शुभचिन्तकहरू सुन्धारा पुगेका थिए ।
जेलमुक्त भए पनि मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनी देशबाहिर जान पाउने छैनन् । काठमाडौं उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्नेछ ।
पीडित परिवारलाई कुनै हिसाबले सम्पर्क गर्न, दबाब, धम्की वा प्रलोभन देखाउन, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यस मुद्दाबारे बोल्न पनि अदालतले रोक लगाएको छ ।