वैशाख १६ काठमाडौं
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने जो कोहि व्यक्तिलाई एक सय रुपैयाँ देखि एक हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना लिन सुरु गरेको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार चैत्र २८ गतेदेखि नगर सुरक्षा समितिको निर्णयपछि यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएपछि हालसम्म लकडाउन उल्लंघन गर्ने करिब १५ सय मानिस कारबाहीमा परिसकेको उहाँले बताउनु भयो ।
अहिले सम्म लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुबाट करिब एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ । रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरिने प्रवक्ता महर्जनले बताउनु भयो ।
यस्तै लकडाउन उल्लंघन गरे एक सय रुपैयाँ र लकडाउनको समयमा मदिरा पसल खोले एक हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । कसुर अनुसारको जरिवाना रकम पनि भिन्दाभिन्दै छ । यसले गर्दा जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ । जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी खटाएको छ ।