राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन : आज मनोनयनपत्र दर्ता, भोलि मतदान

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन : आज मनोनयनपत्र दर्ता, भोलि मतदान

राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ ।

ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

आज नै उमेदवारको नामावली प्रकाशन गरिनेछ । भोलि निर्वाचन गरिने तय छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी निर्धारण गरेका छन् । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए ।

निर्वाचनको दिन राष्ट्रियसभा बैठकमा सुरुमा ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्नेछन् । समर्थकले समर्थन गर्नेछन् ।

त्यसपछि उमेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुनेछ । सो छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनमा एकभन्दा बढी उमेदवार हुने सम्भावना छ । सत्ता र प्रतिपक्ष दल दुवैतर्फका नेताहरूले उमेदवारी दिने बताइसकेका छन् ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार