छिनखेतमा सुविधा सम्पन्न पालिका अस्पताल संचालनको तयारीमा छौँ : अध्यक्ष बाँठामगर

संवाद

छिनखेतमा सुविधा सम्पन्न पालिका अस्पताल संचालनको तयारीमा छौँ : अध्यक्ष बाँठामगर

संवाद

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका प्राकृतिक रुपमा सम्भावना बोकेको स्थानीय तह हो । विकास, निर्माण, कृषि उत्पादनका लागि पनि राम्रो सम्भावना रहेको बाँफिकोटमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि चुनिएको पनि नौ महिना बित्न लागि सकेको छ । नयाँ जनप्रतिनिधि र बाँफिकोटको विकासका सन्दर्भमा बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा मगरसँग उजेली न्यूज डटकमका प्रमुख संवाददाता संगम देवकोटाले  गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

  • तपाई निर्वाचित भइसकेपछि बाँफिकोट गाउँपालिकालाई चिनाउने गरी तपाइको हालसम्मको आठ महिनाको कार्यकालमा के कस्ता कामहरु सम्पादन गर्नुभयो ?

सर्वप्रथम बाँफिकोट गाउँपालिकाको तर्फबाट आफ्ना विचार राख्न दिनुभएकोमा हृदयदेखि उजेली न्युज परिवारलाई आभार ब्यक्त गर्दछु । म बाँफिकोट गाउँपालिकाको मिति २०७९।१।३०को स्थानीय निर्वाचनबाट निर्वाचित भएपछि सवै निर्वाचित पदाधिकारीको सहयोग तथा मेरो पहलमा आ व २०७९।०८०को लागि गाउँपालिकाको नीति कार्यक्रम आर्थिक ऐन विनियोजन ऐन सहित तोकिएको समयमा वजेट तथा कार्यक्रम पारित गरी साउने देखि नियमित रुपमा कार्यान्वयन गरिरहेका छौं ।

यसै आर्थिक वर्षदेखि वडा कार्यालयमा चौविसै घण्टा वैकल्पिक सौर्य उर्जा जडान गरी विद्युत आपूर्तिको सुनिश्चित गरिएको छ । नेटको ब्यवस्था सवै वडा तथा शाखा कार्यालयमा र मा.वि. कार्यालयमा गरिएको छ । अनलाइन वेसमा आधारित रही राजस्व संकलन सफ्टवेयर सन्चालन गरिएको र मालपोत तथा व्यवसाय कर तिरे पछि सेवाग्राहीको मोवाईलमा तिरेको कर मेसेज आउने व्यवस्था गरि कर संकलनलाई पारर्दशिता कायम गरिएको छ ।

दर्ता चलानी सफ्टवेयरबाट अनलाइन दर्ता चलानी गरिएको छ । वडा कार्यालय गाउँपालिका कार्यालय स्वास्थ्य इकाइ र माध्यमिक तहका विद्यालयमा इ–हाजिरी शुरु गरी नियमित गरिएको छ र सो को प्रत्यक्ष रुपमा पालिकाबाट समयमा कार्यालयमा उपस्थित भए नभएको सोही समयमा अनुगमण गरने व्यवस्था गरिएको छ ।

योजना सफ्टवेयर सन्चालन गरी वडा कार्यालयबाट प्राविधिक कर्मचारी मार्फत अनलाइन लागत अनुमान तयारी गरी वडा कार्यालयको अनलाइन सिफारिस गरी योजना सम्झौता तथा कार्यान्वयन मुल्याङ्कन प्रकियालाइ सहज बनाउनुको साथै बैंक खाता सन्चालनमा सहयोग गरिएको छ र योजना सम्झौता गर्न पालिमामा आउनु पर्ने अवस्थाको अन्त्य गरिएको छ । गाउँपालिका कार्यालयमा डिजिटल नागरिक बडापत्र स्थापना गरिएको छ ।

  • स्थानीय तहको यो दोस्रो कार्यकाल हो पहिलो कार्यकालको अधिकाशं समय कानुन बनाउनमा वित्यो, यो कार्यकालमा तपाइहरुको जनतालाइ अनुभुति गर्नेगरी के काम गर्नुहुन्छ ?

पहिलो कार्यकालमा निर्माण भएका ऐन, नियम तथा कार्यविधि जनताको सर्वोपरि हितलाइ ध्यानमा राखी इमान्दारिताका साथ कार्यान्वयन गरी सवै जनताको पक्षमा काम गर्छौं । जनताको लागि प्राप्त भएको वजेट तथा कार्यक्रमलाइ इमान्दारिताका साथ कार्यान्यन गर्ने सुशासन विकास र सेवा प्रवाहलाइ चुस्त दुरुस्त छिटो छरितो जनमैत्री बनाइ काम गर्छौं । अव मेरो काम भनेको पहिला भएका कामको निरन्तरता र बाँफिकोट वासीका आवश्यकताको विषयमा रहने छ । गाउँपालिका धेरै गर्न बाँकी छ । ति कामलाई प्राथामिकरण गरेर जनताले देख्ने गरि काम गर्ने योजना वनाएको छु ।

प्रत्यक वडाहरुबाट आएका समस्याको पहिचान गर्दै ति समस्यालाई प्राथामिकतामा राखेर काम गर्ने हाम्रो सरकारको योजना रहेको छ । मैले निर्वाचन अघि पालिकाको जनतालाई जुन किसिमले काम गर्छु भनेको थिए । त्यहि स्प्रीटमा काम गर्ने योजना मेरो हो । आज बाँफिकोटका जनताले जनककुमार बाठालाई भोट किन हाले भन्ने कुरा मेरो कार्यकाल सकिदा सवैले महसुस गर्न पाउने छन् । जनताको समस्या, दुखः तथा उनीहरुको चाहानालाई सधै आत्मसाथ गर्दै म अघि वढेको छु ।

  • वजेट निर्माण गर्दा तपाइहरुको प्राथमिकता के हो ?

वजेट निर्माण गर्दा हामीहरुले जनताको आवश्यकता सहभागिता अपनत्व र कार्यन्वयनमा जनताको अर्थपूर्ण समावेशीकरणलाइ नैं आधार लिने हो । जस अन्तर्गत सामुदायिक विद्यालयको गुणस्तर सुधार सवै बाँफिकोटबासीमा आधारभुत स्वास्थ्य सेवाको पहुँच स्थापना सवै घरमा खानेपानीको सुविधा विस्तार सिचाई योग्य र श्रोत भएका खेतीयोग्य जमीनमा सिँचाई सुविधा पुर्याउने वडा कार्यालय स्वास्थ्य कार्यालय र सामुदायिक विद्यालय स्थापना गरी सेवा प्रवाह तथा विद्यालय पूर्वाधारलाइ सुधार गर्ने कुराहरु तथा जनताका भैपरी आउने दैनिक दिनका आवश्यकतामा सहयोग राहत एम्बुलेन्स सेवा लगायतका सेवा प्रदान गर्ने कुरा हाम्रो प्राथमिकताको कुरा हो ।

हामिले स्वास्थ्य क्षेत्रलाई विषेश प्राथामिकताका साथ हेरेका छौ । अहिले पनि पालिकामा अस्पताल संचालनको तयारी समेत थालेका छौ । आवश्यक कर्मचारीको व्यवस्थापनको लागि हामिले दर्खास्त आह्वान गर्ने योजना वनाएका छौ । गाउँ कार्यपालिकाको बैठक वसेर पालिकाको वडा नम्वर ४ छिनखेतमा पालिका अस्पताल स्थापनाको योजना अघि वढेको हो । छिनखेतमै हाम्रो ल्याव छ । त्यहि स्वास्थ्य शाखा पनि छ । सवै पालिकाको पायक पर्ने ठाउँ छिनखेत भएका कारण पनि हामिले त्यहि ठाउँमा पालिका अस्पताल स्थापनाको काम थालेका हौ ।

जिल्लाका अन्य पालिकाहरुमा पालिका अस्पताल निर्माण भैसकेका छन् । हाम्रो बाँफिकोट गाउँपालिकामा पनि हामिले पालिका अस्पताल निर्माण गरेर संचालनमा ल्याउन सक्छौ भनेरनै पालिका अस्पताल स्थापनाको योजना वनाएर अघि वढेका छौ । छिट्टै पालिका अस्पताल निर्माण गरेर हामिले छिनखेतबाट नै राम्रो स्वास्थ्य सेवा दिन्छौ । सवै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई हामिले पुरा गर्ने छौ ।

पालिकामा रहेका स्वास्थ्यचौकीहरु औषधिको अभाव रहने दिने छैनौ । ति स्वास्थ्यचौकीमा रहेका प्रसुतिगृहको स्तरउन्नतीको लागि पनि हामिले काम गरिरहेका छौ । प्रदेश, संघिय सरकारमा आवश्यक वजेट माग गरिरहेका छौ । सक्छौ हामिले आन्तरिक रुपमै काम गछौ सक्दैनौ हामिले प्रदेश र संघिय सरकारबाट वजेट माग गर्छौ । दोस्रो कार्यकालको सरकारले पालिकामा केहि गर्यो है भन्ने अनुभुति हामि गराउछौ । चुनौति धेरै छन् । तर बाँफिकोट सरकार चुनौतिबाट कहिले पनि पछि हट्दैन ।

  • दिनप्रतिदिन युवाहरु विदेश पलायन भइरहेका छन् । अर्का तर्फ कृषि उत्पादन पनि घटि रहेको छ यसलाइ रोक्न स्थानीय सरकारको के भूमिका हुन सक्छन् ?

हो पछिल्लो समय युवाहरु विदेश पलायनको समस्या निकै विकराल बन्दै गएको छ । अबैधानिक बाटोबाट विभिन्न देशमा पुग्ने क्रम छ । तर उनीहरुलाई रोक्ने योजना पालिकाकोले मात्रै नपुग्ला । यो पालिकाको समस्या हाईन, जिल्ला, देश सबै तिरको समस्या हो । हामिले राक्न सक्दैनौ भनेर पन्छिने कुरा पनि त भएन । जिल्ला, पालिकामै रोजगारका सम्भावनाहरु धेरै छन् । युवाहरुलाई यहि राक्न सकिन्छ । कृषि क्षेत्रमा धेरै सम्भावना छ । बाँफिकोटको कृषि क्षेत्रमा जोडेर युवाहरुलाई विदेश जानबाट रोक्न सकिन्छ । सवै भन्दा महत्वपुर्ण कुरा भनेको सिपमुलक शिक्षा हो । स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउने अधिकार पनि छ । स्थानीय पाठ्क्रममा सिप मुलक शिक्षालाई पनि समेट्न सकिन्छ ।

हामीले युवाहरुको पलायन लाइ रोक्न गुणस्तरीय विद्यालय शिक्षा प्रदान गर्न सक्नु पर्दछ । प्राविधिक रुपमा दक्ष र आफ्नो सिप क्षमता प्रयोग गरी स्वरोजगार तथा ब्यवसाय गर्न सक्ने तुल्याउनु पर्दछ । यसैका साथै गाउँपालिकाले स्थानीय स्तरमा सीप सिकाइ स्वरोजगार बनाउन सक्नु पर्दछ । हामीले गत वर्ष ४० जना सिलाइ कटाइ र ४० जना लाइ तरकारी तथा च्याउ खेती सम्बन्धी तालिम दिइ ब्यवसाय गर्न प्रोत्साहन गरेका हौं ।

यस वर्ष पनि ३० जनालाइ सिलाइ कटाइ तालिम तथा मेशिन हस्तान्तरण कार्यक्रम र ४० जनालाइ तरकारी खेती होजियारी बाँसका सामग्री निर्माण सम्बन्धी तालिम दिनका लागि काम शुरु गरिसकेका छौं । साथै स्थानीय साधन स्रोतको प्रयोग गरी पारिवारिक स्तरमा रोजगारी तथा आयआर्जन गर्न सक्षम बनाउने कार्य हामी भूमिका खेल्नेछौं ।

  • किसानहरुको उत्पादन बढानउको लागि बाँफीकोट गाउँपालिकाले कस्ता कार्यक्रमहरु सन्चालन गरिरहेको छ ?

हामीहरुले किसान उत्पादन बढाउन साना ब्यवसायिक उत्पादन केन्द्र (पकेट) कार्यक्रम सन्चालन गरी सो अन्तर्गत स्थानीय स्तरमा अदुवा आलु प्याज वेसार सुन्ताल किवि माहुरी पालन तरकारी खेती लगायका कार्यक्रम सन्चालन गरेका छौं र ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा प्रदेश सरकारको कार्यक्रमलाइ कार्यान्वयनमा सहजीकरण तथा प्रभावकारीता अभिवृद्धिका लागि अनुगमन तथा नियमन गरेका छौं । आशा छ पकेट तथा ब्लक विकास कार्यक्रमबाट केही वर्षभित्रै राम्रो परिणाम प्राप्त गर्नेछौं ।

हामिले वडागत रुपामा पनि काम गरिहेका छौ । विभिन्न ठाउँमा सिचाई आयोजना संचालन हुदै छन् । मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सवै वडामा सिचाई योजनालाई प्राथामिकताका साथ अघि वढाएका छौ । भु-उपयोग नितिको काममा पनि हामि लागेका छौ । कृषि क्षेत्रलाई छुट्याएर काम गर्ने पालिकाको आयोजना रहेको छ । पालिकामा कृषि क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थासंग सहकार्य गरेर हामिले काम गरिहेका छौ । जेष्ठ किसानलाई सुनको हलो कार्यक्रम पनि पालिकाको प्रमुख कार्यक्रम हो ।

  • बाँफिकोट गाउँपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? यसको लागि के कस्ता कार्यक्रम सन्चालन गर्नु भएको छ ?

बाँफिकोट गाउँपालिकामा ४४ वटा सामुदायिक विद्यालय ( जसमा माध्यमिक विद्यालय १० वटा) ३ वटा डिप्लोमा तहको पढाइ हुने सामुदायिक उच्च माध्यमिक विद्यालय (वाली विज्ञान, कम्प्युटर इन्जिनिरिङ र सिभिल इन्जिनियरिङ ) १ वटा स्नातकोत्तर सम्मको अध्ययन अध्यापन हुने सामुदायिक क्याम्पस ३ वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् । गाउँपालिकामा ३ वटा वर्थिङ सेन्टर सहित ४ वटा स्वास्थ्य चौकी र ८ वटा आधारभुत स्वास्थ्य इकाइ केन्द्र रहेका छन् । गाउँपालिका अस्पताल निर्माणको ठेक्का सम्झौता भइ निर्माणको प्रकियामा रहेको छ । शिक्षा स्वास्थ्य संस्थाबाट नियमित रुपमा सेवा प्रवाह भइरहेको छ यद्यपि शिक्षा स्वास्थ्यमा थप सुधारको आवश्यक्ता महसुस भएको छ ।

  • अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

बाँफिकोट गाउँपालिकाको तर्फबाट मलाइ विचार राख्न दिनु भएकोमा हार्दिक धन्यबाद । उजेली न्युज परिवारको उत्तरोत्तर प्रगतिका कामना गर्दछु ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार