संसारभरि कहाँ झुके खै क्रान्तिका राता सिपाही……..
कुनै समय यो गीतमा उद्देलित हुने ठुलो जमात थियो । यही गीत सुनेर क्रान्तिका लागि उद्देलित बनाउने क्रान्ति (जनयुद्ध) मा लाग्ने ठुलो संख्या थियो । यो गीतमा बेजोड शक्ति र क्रान्तिकारी उर्जा थियो । यो गीतले थाकेको बेला उत्साह भर्थ्यो । गलेको बेला पुनः जीवन भर्थ्यो र क्रान्तिमा लाग्न आव्हान गर्थ्यो। क्रान्तिकारीहरूप्रति राज्यसत्ता कठोर र निर्मम बन्दा क्रान्तिकारी राता सिपाहीहरू डराउनु हुँदैन वा झुक्नु हुँदैन भनेर साहस भर्थ्यो । क्रान्तिप्रति आशावाद जगाउँथ्यो । हो ,यो गीतमा एक न एकदिन क्रान्तिले विजय हासिल गर्ने अटुट विश्वास र प्रतिबद्धता पाइन्थ्यो । संसारमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको बेला नेपालबाट क्रान्तिको बिगुल फुक्ने हुंङ्कार थियो यो गीतमा । तर , क्रान्तिका लागि उत्प्रेरित गर्ने यो गीतका वरिजिनल सर्जक कहाँ छन् र हिजोआज उनी के गर्छन् होला रु कस्तो अवस्थामा छन् होला रु साँच्चै यो गीतले सार्थकता पायो कि पाएन रु अथवा क्रान्तिलाई धोका यो गीतले दियो वा क्रान्ति हाँक्ने नेतृत्वले रु म यी प्रश्नको जवाफ खोजिरहेको छु । खोजिरहेको छु गुमनाम बनाइएका यो गीतको असली श्रष्टा र सर्जकलाई । जसले हिजो जनयुद्धको समयमा हृदयको आवाज पस्किन्थ्यो । युद्धमा पतिको मृत्युवरण हुँदा त्यो मृत्युले दिएको अस्रय चोट , आहत र व्याकुलताले तप्त बिक्षिप्त भएकी विधवा दिदी र भाउजुहरूलाई मृत्युवरणको पनि नूतन परिभाषा दिएर क्रान्तिमै होमिन सिकाउँथ्यो । यी प्रश्नको जवाफ कसले देला रु अथवा यो प्रश्नको नैतिक जवाफ कसैले दिन सक्ला कि नसक्ला रु भन्ने बिषयले मलाई निकै सकस बनायो ।
म एक वाक्यमा यतिमात्र भन्न सक्छु क्रान्तिको झण्डा झुक्नुमा , क्रान्तिलाई बिच बाटोमा अलपत्र पार्नु प्रचण्डमा आएको बैचारिक विचलन र सत्ता प्राप्ति सम्बन्धि उनको सत्ता बैचारिकी हो । यही एक वाक्यभित्र खोज्न सकिन्छ माओवादी आन्दोलनको सिंगो बिगत र आगत । बिचारको अवसान भएपछि भित्र बाहिर यत्रतत्र तिकडम , छलछाम र षड्यन्त्रको अध्याय शुरू हुन्छ । यही एक वाक्यभित्र एक इमानदार कलाकारको अवसान हुन्छ । एक इमानदार सर्जक गुमनाम हुन्छ । एक इमानदार नेताको विल्लिबाठ हुन्छ। एक इमानदार कार्यकर्ताको लिला सकिन्छ । एक चाटुकारको जिन्दगी नयाँ र ऐयासि गर्ने ठाउँमा पुग्छ । एक चाकडीबाजको जिन्दगी फरक र नयाँ ढाँचामा बदलिन्छ । केही थान गुलाम जन्मिन्छन् र कयौं स्वाभिमानीहरू निर्मम तरिकाले मारिन्छन। । केही थान दासहरू जन्मिन्छन र इमानमा पक्का कर्मठहरू निरीह र अपमान हुन बाध्य हुन्छन् । बलिदान सत्ता स्वार्थको भर्याङ बन्छ । राजनीति एक नाफा लिने पेशा बन्छ । आदर्श एक ढोंगि र आडम्बरीमा रूपान्तरण हुन्छ । मानवीय भावना क्रुर र संवेदनाहिन बन्छ । रणमैदानमा आधा शरीर गुमाएको एउटा घाइते योद्धाको जिन्दगी सकिन्छ । लडाइँको मोर्चामा पति गुमाएकी एक सहिद पत्नीको कथा टुङ्गिन्छ । रणमा छोराछोरी गुमाएकी एक वृद्धा आमाको गथासो मेटिन्छ । मेटिन्छ गौरवशाली इतिहास । मेटिन्छ वैभवशाली आदर्श र वर्गविहिन बनाउने बिचार । मेटिन्छ समानता र न्यायपूर्ण समाजको स्थापना गर्ने बैचारिक दृष्टिकोण ।
४७ देखि ५० को दशकमा माओवादी बैचारिक धाराका राष्ट्रिय रूपमा चर्चित जनवादी कलाकारहरू अघिल्लो पुस्ताका खुशीराम पाख्रिनलाई छोडेर हेर्दा गायन तथा जन संगीतका मुर्धन्य नक्षत्रहरू एवं दर्शक र श्रोतालाई मन्त्रमुग्ध बनाउने ,सुतेकालाई उठाउने , उठेकालाई हिडाउने र हिडेकालाई आस्थाको मंजिल चुम्न उत्प्रेरित गर्न गराउने , उन्मुक्त आकाशमा बिचरण गर्न र उदात्त भावनाकासाथ जिउन सिकाउने , शोषक सामन्ती राज्यव्यवस्थाको सिकञ्जा , निस्सासिंदो जन्जिर , हुकुम , फरमान र निर्मम ताडनाबाट शोषित पीडित जनतालाई उन्मुक्त बनाई नयाँ युगबोध देखाउने , नयाँ बैचारिक जीवनको उज्यालो , उदात्त र पारिलो घाम देखाउने , जीवनका दुख ,कष्ट र सास्तीहरूलाई दूर बनाउनका लागि मार्गदर्शन गर्ने र आखिरमा दुनियाँ र जगतलाई एउटै बैचारिक राजनीतिको छातामूनि गोलबन्दगरि वर्गविहिन समाज बनाउने उच्चतम तथा अन्तिम अभिष्टमा पुग्नका लागि आव्हान गर्ने कुशल सर्जक , स्वप्नद्रष्टा समधुर स्वरका धनी जनकलाकारहरू च्याम्वा लामा , ध्रुव ज्ञवाली, चुनु गुरूङ र मस्त बिष्ट (यी चार जना जनयुद्धको क्रममा सहिद भएका) ,पहल पुन, सीता आचार्य , पुर्ण घर्ती ,माइला लामा , कनैया सिं परियार , अञ्जना गुरूङ , लक्ष्मी गुरूङ (नीर पवन) लगायत आदि थुप्रै चर्चित कलाकारको माझमा एउटा भर्खरको तरूण कलाकार थिए रामबहादुर बाँठा अर्थात राम जि बाँठामगर । रूकुमको साविक खारा गाविस (हाल त्रिवणी गाउँ पालिका) खुम्चेरिमा जन्मिएका बाँठा प्रायः गितारका तार र हार्मोनियमको स्वर तालमा मीठो स्वरमा गुनगुनाहट गर्ने एउटा मुर्धन्य कलाकार थिए।
जनयुद्धको आधारशिला तयार गर्न , नेपाली जनताको परिवर्तनप्रतिको भोकलाई मेट्न र क्रान्तिको विगुल फुक्दै जनताको मझेरिमा पुगेर आँसु, पीडा र जलनका गीत गाउँथे । मनका दर्द , आक्रोश र उद्देलनका गीत गाउँथे । भोका नाङ्गा र श्रमिकहरूलाई बिद्रोहका लागि आव्हान गर्थे । त्यही क्रममा उनी रूकुम र रोल्पाका सयौं गाउँ वस्तिमा सामन्ती राज्यव्यवस्थाका विरूद्धमा चेतनाको पारिलो घाम छर्दै क्रान्तिका लागि आव्हान र हुंङकार छेड्दै कहिले सानी र ठुली भेरिनदी तिरमा क्रान्ति जागरणका गीतहरू गाउँदै हिडे । कहिले माडि र झिम्रूक नदी वरपरका गाउँ वस्तिमा पुगेर जनतालाई क्रान्तिका लागि तयार हुन अपिल गर्दै हिडे । कहिले कर्णालीका हिउँ फुल्ने पहाडहरूमा , कहिले मौराखारा , चित्रीपाटनर झारमारेका लेकहरूमा क्रान्तिका गीतहरू सुसेल्दै , कहिले भरियाका गीत गाउँदै , कहिले चुलो चौकामा सिमित बन्न विवश बनपाखामा घाँस दाउरा काट्ने दिदीबहिनीहरूका पीडा र मनका बहहरूलाई गीत बनाउँदै हिडे , कहिले कालापहाडमा सडक बनाउन गैंती , बेल्चा , सावेल र घन बजार्ने गोर्खाली दाजुभाइहरूका पसिनाका गीत गाउँदै ,
गरिबी र अभावको दलदलमा रहेका र दस ठाउँ टालेका चोली लगाएर जिन्दगी काटिरहेकी बुढी आमाहरूको कथालाई गीत बनाउँदै , ससाना सन्तानहरूका भोका पेटहरूमा दाना भर्न नाङ्गो कुरकुच्चाबाट तरतर रगत बगाउँदै पसिना चुहाउँदै साहुको खेत पाखो जोतिरहेका बुढा बाहरूको थकान र सुस्तिका सुस्केराहरूलाई गीत बनाउँदै हिडे । मानव तस्करहरूबाट सिमाना पारि कोठरिमा बेचिएकी चेलीहरूको कथा र श्रीमतीको चोली फेर्नलाई बिहे गरेको भोलिपल्ट सिम्ला पहाडमा सडक खन्दा पैरोमा पुरिएर मरेको पति र पतिको वियोगमा छट्पटीरहेकी विधुवा बहिनीको हृदयका अस्रय पीडाका गीत गाउँदै हिडे । फोकल्याण्डको टापुमा लडिरहेका गोर्खालीहरूको वीरताको कथा र गाथा , चीनिया जनमुक्ति सेनाका वीरता र बलिदानीका गाथाहरूको गीत गाउँदै हिडे । कहिले सिस्ने र जलजला , कहिले चौरजहारीको फाँट हुुँदै हिउँ जम्ने मैकोटको बुकिसम्म पुगे । कहिले रोल्पाको हार्जङ् , जन्मकैसल , मिरूल , जङ्कोट , बागमारा , होलेरि , इरिवाङ , कहिले आस्थाको सतिसाल भनेर चिनिने कयौंपटक रोमियो अप्रेसनको सामना गरेको चर्चित थवाङ् गाउँमा पुगेर जनताको घर दैलोमा क्रान्तिका गीतहरू सुसेल्दै हिडे ।
हो , क्रान्तिको उदात्त सपनाका खातिर क्रान्तिको उद्दाम ज्वाला बोकेर उनी सयौं गाउँ बस्तीमा पुगे । जनताका गीत गाए । जनताको भाका गाए । जनताको मनका बहहरूलाई गीत संगितमा उतारे ।
राज्यसत्ताले उनको यो गीत संगीतको यात्रालाई त्यो महानतम अभियानलाई मन पराएन । उनको गीत संगीतको अभियानदेखि सामन्ती राज्यव्यवस्था डरायो । फलतः उनीमाथि राज्यले झुठो मुद्दाको प्रपञ्च रच्यो र तीन पटक गरेर झन्डै २ वर्ष जेलमा राखेर उनको आस्थामाथि प्रतिबन्ध लगाउन खोज्यो । उनको आस्थामाथि राज्यसत्ता निर्मम बन्यो तर जनताको प्रिय कलाकार जेलनेल र हत्कडि पैरिएर डराएन । अझ उनी जेलभित्र सशक्त क्रान्तिकारी योद्धा बनेर निस्किए । गितार , हार्मोनियम र बाँसुरीको अलावा बन्दुक बोकेर युद्धमा होमिए । कयौं साथीहरू युद्ध मैदानमा गोलीले ढल्दा युद्धमै आक्रोश र वदलाका गीत गाए । उत्साह र उमंग भर्ने गीत गाए ।
तर विडम्बना , जनताको प्रिय कलाकार , प्रिय सर्जक र एक इमानदार नेता राम जि बाँठामगर आज गुमनाम बनेका छन् । उनी कहाँ छन् र के गर्छन् भन्ने चासो कसैको छैन । उनका गीत सुनेर नेता भएका केही मान्छेहरू राज्यसत्ता चलाउने ठाउँमा पुगे । समकालीन र कनिष्ठ उनका साथीहरू मन्त्री र सांसद भैसके । अकुत सम्पत्तिको मालिक र नव धनाढ्य भैसके । क्रान्तिलाई धोका दिएका र नव धनाढ्य वर्गमा रूपान्तरित भएका सुकिलामुकिला मान्छेहरूले आज उनलाई विर्सिए । ढाड भाँचिएको सर्प जस्तै वल्लो घाट र पल्लो तिर बनाई दिए । तिनीहरू अचेल चिन्दैनन् राम जिलाई । चिन्छन् र किन्छन् अचेल उनीहरू आफ्नो स्तुति र भजनमण्डली गर्ने भाडाका मारूनी डिजिटल कलाकारहरू । तिनै मारूनी डिजिटल भाडाका कलाकारहरू भएपछि क्रान्तिको लागि मीठो गीत गाउने राम जि बाँठामगर यसैपनि उसैपनि गुमनाम …….
सुनिन्छ , प्रिय सर्जक र श्रष्टा राम जि बाँठामगर दैनिकी धान्न आजकाल गाउँमै सिकर्मी काम गर्छन् रे ।
उनले रचना गरेका यी तलका गीतहरू अझै पनि हाम्रो मानसपटलमा गुञ्जिरहन्छन ।
१- संसारभरि कहाँ झुके खै क्रान्तिका राता सिपाही………
२- तातिदै छन चिस्यानहरु………….
३- आजलाई जाउँ साथी फेरि फेरि भेटौला……..