मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा

मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा

फाईल तस्बीर ।

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भोली फागुन १ गतेदेखि सुरु हुन लागेको पाँचौ मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा भएको छ । जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले हरेक बर्ष फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टका अनुसार यो समाचार तयार पार्दा सम्म पुरुष तर्फ २४ र महिला तर्फ १३ जना नाम दर्ता गराएका छन । उहाँका अनुसार भोली बिहान ७ बजे सम्म नाम दर्ता गर्न सकिने छ ।

म्याराथनको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र पूर्व अर्थ मन्त्री जनार्दश शर्माले गर्ने बताइएको छ । मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सानीभेरी गाउँपालिकाको आयोजना र युवा खेलकुद विकास समिति सानीभेरीको सह–आयोजनामा सञ्चालन हुन लागेको हो ।

४६ किलोमिटर दुरि रहेको पुरुष म्याराथनको विजेताले नगद १ लाख पुरस्कार पाउने आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । दोस्रोले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ४५ हजार र चौंथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थानसम्म हाँसिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।

त्यस्तै २१ किलोमिटर दुरिमा संचालन हुने महिला गुरिल्ला म्याराथनको विजेता पुरस्कार नगद ६० हजार तोकिएको छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार प्रदान गरिने छ ।

गाउँपालिकाले तत्कालीन माओवादी लडाकूहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ । मौराखारा तत्कालीन माओवादीले लडाकू उत्पादन गर्न प्रयोग गरेको ठाउँ हो । गाउँपालिकाले यही ठाउँको नामबाट म्याराथनको नामाकरण गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार