सर्वपक्षीय समन्वय गर्दै योजनाबद्ध विकास प्रकिया थालनी गरेका छौँ : नगर प्रमुख केसी

अन्तर्वार्ता

सर्वपक्षीय समन्वय गर्दै योजनाबद्ध विकास प्रकिया थालनी गरेका छौँ : नगर प्रमुख केसी

अन्तर्वार्ता

संघीयता कार्यान्वयनमा आएपछि देशमा दुईपटक स्थानीय तहको निर्वाचन भइसकेको छ । विकास निर्माण, कृषि उत्पादनका लागि राम्रो सम्भावना रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि चुनिएको पनि नौ महिना बित्न लागि सकेको छ । नयाँ जनप्रतिनिधि र मुसिकोटको विकासका सन्दर्भमा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीसँग उजेली न्यूज डटकमको लागि गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक

  • मुसिकोट नगरपालिकालाई चिनाउने गरी कार्यकालको नौ महिनामा के के काम भए ?

विशेषगरी स्थानीय तहको निर्वाचन पश्चात हामीले सरकारको कार्यभार सम्हाले पछि आन्तरिक रुपमा नगर सभा गठन, कार्यपालिका गठन, विषयगत समितिहरुको गठन, विषय क्षेत्रगत समितिहरुको गठन तथा संचालन, तोकिएकै अवधिभित्र नीति तथा कार्यक्रम र बजेट नगर कार्यपालिका हुँदै नगरसभाबाट सहमतीय रुपमा स्वीकृती गर्ने काम गर्यौँ । बार्षिक बजेट तथा कार्यक्रमहरु कार्यान्वयनको लागि कार्यान्वयन योजनाहरुको निर्माण गरी काम भइरहेको छ । स्विकृत कार्यक्रम तोकिएकै समय तालिकामा सम्पन्न गर्ने तयारीमा छौँ । यी हामीले गरिरहेका नियमित काम हुन् ।

त्यस्तै कार्यालय संचालन तथा व्यवस्थापनमा केही सुधार गरेका छौँ । कार्यालयको आन्तरिक प्रणाली, आन्तरिक व्यवस्थापनमा खट्किएका केही पक्षहरुमा सुधार भएको छ । सबै शाखा, फाँट तथा वडा कार्यालयहरुलाई जनमैत्री सेवा प्रवाहको लागि परिचालित गरेका छौँ । कार्यालयको भौतिक व्यवस्थापनमा पनि सुधार गरेका छौँ । कार्यालयको आन्तरिक सजावट, न्युनतम पुर्वाधार, सरसफाइदेखि कार्यपालिका बैठक संचालनदेखि नगर सभा तथा विभिन्न कार्यक्रम संचालनको लागि नगरपालिका बाहिर जानु पर्ने वाध्यतालाई नगरपालिका भवनभित्रै त्यो व्यवस्था मिलाएका छौँ । शाखा तथा फाँटलाई जनताको जनसम्पर्कको आधारमा वसाई व्यवस्थापन गरेका छौँ । सुचना पाटी, डिजिटल बोर्ड लगायत सानातिना कार्यहरुमा पनि ध्यान दिएका छौँ ।

त्यस्तै वडागत रुपमा सन्तुलन मिलाएर र सबै विषय क्षेत्रको सन्तुलन मिलाएर डिपिआर तयार पार्ने प्रणालीको विकास गरेका छौँ । विगतमा भौतिक पुर्वाधार विशेषत सडकमा मात्र डिपिआर निर्माण भई संघीय तथा प्रादेशिक योजना माग तथा पालिकाभित्रको योजना प्राथमिकताक्रम, छनौट तथा संचालनमा पनि क्षेत्रगत सन्तुलन नमिलेको कुरालाई सच्याउदै लगेका छौँ ।

त्यस्तै दिर्घकालीन प्रकृतिका कार्यहरु जस्तो आवधिक योजना निर्माण गरेर मात्र नगरको योजनावद्द विकास गर्न सकिने कुरालाई ध्यान दिंदै । प्रथम पन्च बर्षीय योजना निर्माणको थालनी गरेका छौँ । पन्चवर्षीय योजना निर्माणमा शुरुदेखि नै नगरपालिकाका सबै सरोकारवालाका साथसाथै जिल्ला सदरमुकाम समेत भएको पालिका भएकोले जिल्लास्तरीय सरोकारवालाहरुलाई समेत सहभागी बनाएका छौँ । पन्चबर्षीय योजनालाई तीन महिनाभित्रै सम्पन्न गरी यसका सबै प्रक्रिया र चरणहरुमा पालिकाका सम्बद्द सबैलाई सहभागी बनाई विकास र समृद्धिको लागि । मुसिकोट नगर खुशी नागरीक समृद्ध शहरको दिर्घकालीन सोँच निर्माण गरी विकासमा सर्वपक्षीय सहमती कायम गरेका छौँ । अंझै पनि एकाँकी र एकपक्षीय विकासका गतिविधिहरुलाई सर्वाङ्न र बहुपक्षीय बनाउने प्रक्रियामा छौँ । आवधिक योजना निर्माण पछि सोही आधारमा बार्षिक नीति योजना तथा बजेट कार्यक्रम ल्याउने छौँ । विशेषगरी आव २०७९।०८० मा बजेट निर्माणको लागि हाम्रो पहिलो अनुभव रहेकोले केही छुटेका विषयहरुलाई आव २०८०।०८१ देखि शुरु गर्नेछौँ । हाम्रा सबै गतिविधिहरु आवधिक योजनाको आधारमा योजनावद्व, व्यवस्थित हुनेछन् । योजना बैँकहरु निर्माण गरी योजनाहरुको प्राथमिकताक्रम निर्धारण गर्दैछौ । बार्षिक बजेट तथा कार्यक्रम र आवधिक योजनाको वीचमा अन्तरसम्बन्ध कायम गर्नको लागि मध्यमकालीन खर्च संरचना पनि निर्माण गर्दैछौँ । यसरी विकासका गतिविधिहरुलाई योजनावद्द र लिपिवद्द गर्दै व्यवस्थित रुपमा संचालन गर्दैछौँ । हरेक क्षेत्रमा लक्ष्य, उद्देश्य निर्धारण गरी संचालन गर्दैछौ ।

त्यस्तै सदरमुकामको पालिका भएकोले फोहोर व्यवस्थापनलाई पनि दिगो र दिर्घकालीन रुपमा व्यवस्थित गर्नको लागि, फोहोरलाई मोहोरमा रुपान्तरण गर्नको लागि सम्भावित ठाउंहरुको स्थलगत निरीक्षण गरी दिर्घकालीन प्रकृतिका स्थानहरु छनौट गरेका छौँ । फोहोरको वर्गीकरण गरी शिसाजन्य, कुहिने र नकुहिने गरी तीन स्थानमा व्यवस्थापनको दिर्घकालीन प्रक्रिया शुरु गरेका छौँ ।

पहिलो चरणमा खंलगा वजार आसपासका क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ । त्यसपछि क्रमश नगरपालिका क्षेत्रभित्रका बजारहरु सौर्य वत्ती जडान गर्ने योजना रहेको छ ।

निर्माणाधिन रहेका वडा कार्यालयहरुलाई सम्पन्न गरेका छौँ । केही सम्पन्न हुने क्रममा छन् । सम्पन्न भएका वडा कार्यालयहरुमा न्युनतम रुपमा पुर्वाधारयुक्त बनाउंदैछौ । निर्माण हुन नसकेका १, ४, ५, ९ र १४ नम्वर वडा कार्यालयहरुलाई आगामी बर्षदेखि शुरु गर्नको लागि प्रक्रिया थालनी गरेका छौँ । ठुली दह संरक्षण तथा ताल निर्माण र शाख खोला, मुग्लुखोला कटान नियन्त्रण गर्ने शुरु गरेका छौँ । यस्तै वडा नम्बर ५ को पहिरो रोकथाम तथा नियन्त्रणको लागि डिपिआर बनाएर काम गर्दैछौ ।

नगरपालिकामा अति आवश्यक कुराहरु जस्तो अटो रिक्शा संचालन सम्बन्धी कार्यविधि स्वीकृती गरी कार्यान्वयनको प्रक्रिया शुरु गरेका छौँ । विपन्न नागरिकलाई एम्बुलेन्स सेवा उपलब्ध गराउन कार्यविधि स्वीकृत गरेका छौँ । एकवटा एम्बुलेन्स पनि थप गरेका छौँ । अति आवश्यक केही कार्यविधिहरु पनि निर्माण गरेका छौँ ।

  • स्थानीय तहको यो दोस्रो कार्यकाल हो पहिलो कार्यकालमा अधिकाश समय कानुन बनाउनमा बित्यो, यो कार्यकालमा तपाईहरुको जन्तालाई अनुभुति गर्नेगरी के काम गर्नुहुन्छ ?

हो । हामीले दोस्रो कार्यकाललाई विकास र सेवा प्रवाहमा केन्द्रित गर्दैछौँ । गाउँ गाउँ र टोलटोलका विकासका आकांक्षाहरुलाई एकिकृत गरी त्यसलाई पाँच बर्षे योजनाको माध्यमबाट सम्बोधन गर्ने प्रयास गर्दैछौँ । विगतमा हुन नसकेका मुसिकोट नगरपालिकाको फोहोर व्यवस्थापनलाई दिर्घकालीन, दिगो र व्यवस्थित रुपमा समाधान गर्दैछौँ । मुसिकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन नभएकोले हाम्रो कार्यकालभित्र उक्त कार्य पुरा गर्नेछौँ । नगरपालिका स्तरमा पालिका अस्पताल नभएकोले मुसिकोट अस्पतालको व्यवस्था गर्नेछौँ ।सबै वडा कार्यालयहरुलाई पाँच बर्षभित्र आफ्नै भवनबाट सेवा प्रवाह गर्नेगरी न्युनतम पुर्वाधारयुक्त बनाउनेछौँ । शिक्षाको क्षेत्रमा समग्र शैक्षिक सुधारको खाका तय गरी कार्यान्वयन गर्नेछौँ । कमसेकम एकवटा पालिकाको तर्फबाट नमुना विद्यालयको रुपमा विकास गर्नेछौँ । बैङ्किङ्ग सेवालाई निश्चित क्षेत्रमा विस्तार गर्नको लागि पहल गर्नेछौँ । कार्यालय तथा वडाको सेवा प्रवाहलाई विधुतीय माध्यमबाट संचालन गर्नेछौँ ।

  • बजेट निर्माण गर्दा तपाईहरुको प्राथमिकता के हो ?

बजेट तथा कार्यक्रम निर्माण प्रक्रियालाई थप व्यवस्थित गर्नेछौँ । बजेट प्रदान प्रक्रियामा सप्लाई Supply side भन्दा Demand Side लाई जोड दिनेछौँ । संघीय सरकार, प्रदेश सरकारका योजनाहरुलाई पनि पालिकाको आवश्यकता मुखी बनाउने छौँ । प्राथमिकताको कुरा गर्दा आवधिक योजना मार्फत नै योजना बैँकको निर्माण गरी कार्यान्वयन गर्नेछौँ । मुसिकोट नगर खुशी नागरिक समृद्ध शहर निर्माणको दिर्घकालीन सोँचलाई कार्यान्वयन गर्नको लागि कृषी, स्वास्थ्य,  शिक्षा, पुर्वाधार, पर्यटन, सामाजिक विकास जस्ता पक्षहरुलाई प्राथमिकतामा राखी संचालन गर्नेछौँ ।

  • दिनप्रतिदिन युवाहरु बिदेश पलाएन भइरहेका छन, अर्का तर्फ कृषि उत्पादन पनि घटि रहेको छ । यसलाई रोक्न स्थानीय सरकारको के भुमिका हुन सक्छन ?

निश्चित रुपमा हामीले हाम्रो पालिकाको खेतीयोग्य जमिनलाई उपयोग गर्नको लागि भुउपयोग नीति स्वीकृत गरी जग्गाको वर्गीकरण गरेका छौँ । सो आधारमा स्थानीय बालीनाली, खेती प्रणालीलाई संरक्षण गर्ने छौँ । युवाहरुलाई गाउमै आकर्षित गर्नको लागि र बाँझो जग्गा जमिनलाई सदुपयोग गर्नको लागि स्थानीय उत्पादन प्रबर्धन कार्यक्रम संचालन गर्नेछौँ । युवाहरुलाई आफ्नै गाउँमा बसी श्रम गरेर रोजगारी तथा स्वरोजगारी प्राप्त गर्ने व्यवस्था गर्नेछौँ ।

  • किसानहरुको उत्पादन बढाउनको लागि मुसिकोट नगरपालिकाले के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?

किसानहरुको उत्पादन बढाउनको लागि मुसिकोट नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । कृषि पकेट क्षेत्रको विस्तार गरि कृषकहरुलाई विभिन्न कृषि औजारहरु वितरण गर्दै आएका छौ । वडा नम्वर ५ बागबजारमा निर्माण भएको तरकारी संकलन केन्द्र संचालनको तयारी थालिएको छ ।  सिप विकास तालिम, कृर्षी प्रवर्धन, उन्नत विउ विजन वितरण, सिड बिन (बिउ राखने भाडो ५०% अनुदान, कृषक सहकारी समुहलाई ताजा तरकारी बिउ वितरण, फलफुल तथा पुस्प नर्सरी का लागि वीउ खरिद, कागतिका विरुवा वितरण, ताजा तरकारी वीउ विजन वितरण, उत्कृष्ट किसानलाई सम्मान तथा पुरष्कृत, बेमौसमी तरकारी खेतिकालागि टनेल तथा विउ वितरण. कृषी तथा पशु विमा कार्यक्रम, कृर्षी बाली बिउ वितरण तथा कृर्षि आधुनिकरण कार्यक्रम, उत्कृष्ठ कृषक, फर्म समुह प्रोत्साहन कार्यक्रम, व्यवसायिक च्याउ उत्पादन कार्यक्रम, करेसा वारी तरकारी खेती प्रबद्धन कार्यक्रम, माटो परिक्षण शिविर सञ्चालन, किवी बगैचा व्यवस्थापन, आकस्मिक वाली संरक्षणा सेवा कार्यक्रम, सुन्तला बगैचा सुदृढिकरण तथा व्यवस्थापन कार्यक्रम, फलफुल वगैचा विस्तार कार्यक्रम, वाली विमा प्रबर्द्धन कार्यक्रम, मौरी विकास कार्यक्रम, दुध उत्पादन आत्मनिर्भर कार्यक्रम,पशुपन्छी रोगको अन्वेषण, नमुना सङ्कलन तथा प्रेषण, सूचना प्रकाशन तथा उन्नत बीउ उपयोग अनुगमन निरीक्षण, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, कृषि उद्योग स्थापना तथा सहयोग लगायतका कार्यक्रमहरु संचालन गरिरहेका छौँ ।

  • मुसिकोट नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? यसको लागि के कस्ता कार्यक्रमहरु सञ्चालन गर्नुभएको छ ?

मुसिकोट नगरपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था सन्तोषजनक छ । शिक्षाको क्षेत्रमा ५५ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत गरी जम्मा ६५ वटा विद्यालयबाट विद्यालयस्तरीय पठनपाठन भइरहेको छ । संघीय सरकारबाट मावि निमावि र प्रावि गरी २७५ जना शिक्षक दरवन्दीको व्यवस्था गरेको छ भने ५५ वटा बालविकास केन्द्र, १६ वटा विद्यालय कर्मचारी र ५५ वटा कार्यालय सहयोगीको व्यवस्था गरेको छ । त्यस्तै मुसिकोट नगरपालिकाबाट १ वटा बालविकास केन्द्र र मावि, निमावि, प्रावि गरी ८४ वटा नगर करार शिक्षकको व्यवस्था गरी शैक्षिक सेवा प्रवाह भइरहेको छ ।

उच्च शिक्षाको क्षेत्रमा हाम्रै पालिकामा दुइवटा क्याम्पस पनि रहेका छन् ।

स्वास्थ्यको क्षेत्रमा  ५ वटा स्वास्थ्य चौकी, २ वटा शहरी स्वास्थ्य केन्द्र, ९ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ । १३ र १० मान निर्माणाधिन र ९ नम्वरको नभएको अरु सबै वडामा आफ्नै भवनमा संचालन भएको ।  प्रत्येक वडामा स्वास्थ्य संस्था रहेका छन् भने । जनशक्तिको क्षेत्रमा करार र स्थायी गरी विद्यालय नर्स समेत ७८ जना जनशक्तिबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।

शिक्षा र स्वास्थ्यलाई न्युनतम पुर्वाधारयुक्त बनाउने योजनामा छौँ । शिक्षा, स्वास्थ्यका साथसाथै मुसिकोट नगरपालिकाको समग्र जनशक्तिको ओ एन्ड एम सर्भे गरी जनशक्ति व्यवस्थापनको व्यवस्थित खाका ल्याउदैछौँ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा आवश्यक ऐन, नियम, कार्यविधिहरु निर्माण भएका छन् । केही कानुनहरु संघीय तथा प्रदेश कानुन आएपछि आवश्यक संशोधन पनि गर्दै जानेछौँ । समग्रमा भन्दा मुसिकोट नगरपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था सन्तोषजनक छ । यसमा थप सुधार गर्नको लागि उपयुक्त खाका निर्माण गरिरहेका छौँ । सामाजिक विकास समितिबाट सबै विद्यालयहरुको स्थलगत अध्ययन गरी दिएको प्रतिवेदनको आधारमा समेत शिक्षाको रुपान्तरण तथा सुधारका मार्गहरु तय गर्नेछौँ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार