“अई माइला । हाम्रा लख्याहरूलाई केइ बाटो लाइदिन्नै बाल । भस्मेइ लफङ्गा भइया यिनीहरू ता ।”
म परार साल गाउँमा पुग्दा नन्दुराम काइँलाबाले मसित गुनासो पोखेका थिए । म काठमाण्डौबाट घर पुगेको थाहा पाएपछि देशविदेशका समाचार सुन्न उनी मेरो घरमा आइहाल्छन् । उनका किस्ने र बिस्ने नामका दुईभाइ छोरा थिए । दुवै भाइले एसएलसी पास गरिसकेका थिए । भर्खरै पुगेको सडकले गाउँमा विकासको लहर सिर्जना गरेको थियो ।
“केइ चिन्ता नमान्नोस् काइँलाबा । लक्का जवान छन् । बिस्तारै चेत पलाउँदै जान्छ । गरी खाने बाटो भेट्टाइहाल्छन् ।” मैले ढाढस दिएको थिएँ ।
“दे तो बाल् ! अरूले भया गरेल्दान् । क्यार्न गर्दान् र यिनले ! यिनी ता देख्दा लाल ढिरा काल मात्रै हुन् ।” काइँला बाले लामो सास फेरेका थिए ।
मैले काइँलाबालाई शान्त्वना दिन देश समृद्धिको बाटोतिर लम्किएको र खेती किसान व्यवसाय व्यापार जेबाट पनि आय आर्जन गर्न सकिने भएकोले खान लाउन छेलोखेलो हुने कुरा बताउँदै बाजेसँग विदावारी भएको थिएँ ।
पोहोर साल जाँदा भने बाजे मेरो घरमा आएनन् । उनी गाउँमा पनि कतै निस्किएको देखिएन । म आफैँ उनको घरमा गएँ र जाँदाजाँदै उनलाई भनेँ, “ढोक गरेँ काइँला बा । यसपालि त हजुरलाई कतै देखिनँ । म आफैँ आइपुगेँ काइँलाबा ।”
“भाइर जाने पग्गापरान केइ लाग्दैनन् हेर् माइला । बुरेसकालले थल्याल्यो हेर् । अब ता यइ देलोमा कुइकुइ मर्ने ता होला ।”
“त्यस्तो नराम्रो नसोच्नुस् काइँलाबा । जे हुन्छ राम्रै हुन्छ ।” किस्ने र बिस्ने भाइहरूको खबर सोधेँ ।
“दे तो माइला । किस्न्याले राचनीति गर्चु भन्च बिस्न्याले अम्रिका जान्चु भन्च । भन्याउ केइ लाग्दैन । यिनखै लागि जोरिदियाउ सम्पत्ति लङ्गबिलङ्ग पार्रेल्या हेर् । यिनखा नाउमा नगराइदियाभया जग्गाउ टट्कोमुट्को बच्त्यो कि । बिस्न्याले जग्गा बेच्चु भन्च । किस्न्याले राजनीतिको नाउँमा भयाउ सिरिसम्पति सप्पै भुटकुट पारी बेचिखाल्या । क्यार्ने हुन् दे तो ।” काइँलाबाले परिवारको लामै फेहरिस्त प्रस्तुत गरे । उनको प्रस्तुतीमा गाउँ झल्कन्थ्यो ।
मैले न काइँलाबालाई केही भन्न सकेँ न त उनका छोराहरूलाई । अवस्था कस्तो थियो भने दुवै जल्दाबल्दा मामिला थिए । यो बाटो गलत हो भन्नै नसकिने ।
“दुवैले चुनेको बाटोलाई नराम्रो मान्न सकिँदैन काइँलाबा । हरेक काम गर्दा जोखिम त छ, तर राम्रो काम गर्न झन् जोखिम बढी हुन्छ । जोखिमबाट बच्न सक्नुपर्छ राम्रै हुन्छ काइँलाबा ।” यति भनेर म काइँलाबासँग विदाबारी भएँ । उनको अनुहार झनै उदासिलो थियो । पुर्खौँबाट कमाउँदै आएको जग्गा सकिएकोले पो काइँलाबाले मुख देखाउने ठाउँ नपाउँदा गाउँमा ननिस्किएका हुन् कि ? यस्तै मन कुरा खेलाउँदै घरतिर लागेँ ।
यता आएपछि फेसबुकबाट किस्ने र बिस्ने दुवै भाइको खबर अपडेट भैरहेको थिएँ । बिस्नेले आफ्नो नाउँको जग्गा बेचबिखन गरी ऋण तथा सापटी गरेर पचासलाखजति जम्मा गरेपछि चोरबाटो हुँदै अमेरिकातिर प्रस्थान गरेको थाहा भयो । काइँलाबाले बिस्नेलाई सम्झाइबुझाइ गरे होलान् । तर काइँलाबाको केही जोर चलेनछ । केही दिनमा बिस्ने दिल्ली, अरब हुँदै दुई महिनापछि अमेरिका पुगेछ । तर पुग्दापुग्दै अमेरिकन प्रहरीबाट समातिएर जेलमा कोचिएछ । ऊ जेलबाट नेपालमै डिपोर्ट हुँदै छ रे ।
उता किस्ने स्थानीय चुनावमा उठेछ । प्रचारप्रसार खुबसित गरेछ । हातेभाँरे र चुनाव खर्चको लागि चुनाव जितेपछि तिर्छु भनेर गाउँका साहुमहाजनहरू, बैँकहरू, सहकारीहरूबाट ऋण लिएछ । आफ्नो भागको जग्गाजमिन जति सबै बेचेछ । औपचारिक र अनौपचारिक गरी उसको चुनाव खर्च पचास लाख पुगेछ । यति गर्दा जितेको भए त खर्च उठाइहाल्थ्यो होला तर किस्नेले एक मतले चुनाव हार्न पुगेछ । एउटा छोरा अमेरिकामा जेल परेको र अर्को छोराले चुनाउ हारेको भन्ने सुन्नेबित्तिकै हृदयाघात भई काइँलाबाले प्राण त्यागेछन् ।
एक मतले मात्र हारे पनि ऊ त हरुवा भैहाल्यो । ऋणदाता र साहुहरूले उसलाई लखेट्न थालेछन् । जहाँ भागे पनि छोड्दा रहेनछन् ।
दुवै भाइ भेट भएपछि सल्लाह गरेर अहिले जग्गा भाडामा लिएर कृषि फर्ममा लागेका छन् । दुई भाइको संयुक्त प्रयासले राम्रै परिणाम दिइरहेको छ । तर छोरा बिग्रिएको देखी प्राण त्याग्ने काइँलाबाले यो प्रगअब ति कहिले देख्न पाउनेछैनन् ।