अनुदानको साटो कृषि ऋण सहज गर्न आवश्यक : अध्यक्ष केसी

अनुदानको साटो कृषि ऋण सहज गर्न आवश्यक : अध्यक्ष केसी

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी ।

दोस्रो स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि चुनिएको पनि एक वर्ष पुग्न लागेको छ । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये त्रिवेणी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुन सफल भएको छ । नयाँ जनप्रतिनिधि र त्रिवेणी गाउँपालिकाको विकासका सन्दर्भमा गाउँपालिका अध्यक्ष गणेश कुमार केसीसँग उजेली न्यूज डटकमको लागि गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक

  • त्रिवेणी गाउँपालिकालाई चिनाउने गरी कार्यकालको नौ महिनामा के के काम भए ?

पालिकामा अध्यक्ष निर्वाचित भएको १० महिना बित्न लागेको छ । सार्वजनिक सेवा प्रवाह र सुशासनमा सुधार भएको छ। प्राकृतिक तथा वित्त समितिको मूल्यांकनमा यो गाउँपालिका ७३.२९ प्रतिशत अंक प्राप्‍त गरी रुकुम पश्‍चिममा पहिलो भएको छ। लिसा कार्यक्रमको मूल्यांकनमा पनि उल्लेख्‍निय सुधार भएको छ। पूर्वाधारतर्फ मुरु डाँडा, बारिखा, झ्यामखोला, विता, खारानेटा, चिउरा गण्ठा सडक ट्रयाक खोल्ने काम जारी छ। सिम्रुतु विमैचा, गैरीनेटा, सुवेगैरी सडक निर्माण भईरहेको छ। सिम्रुतु, खुम्चेरी, डलसिङ्गे सडक स्तरउन्‍नति भएको छ। विद्यालयहरु २ कोठे र ४ कोठे गरी २७ वटा निर्माण हुदैछन्। गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालय भवन, वडा नम्बर २ को वडा कार्यालय भवन, वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण हुदैछ। आधारभूत स्वास्थ्य चौकीको भवन वडा नम्बर १० बरनेटीमा टेण्डर भएको छ। गाउँपालिकाको प्रशासनिक भवन र गाउँपालिका अस्पताल भवन निर्माण कार्य शुरु भएको छ। एक घर एक धारा कार्यक्रम अन्तर्गतका आयोजनाहरु सम्पन्‍न हुदैछन्। गाउँपालिकाको वडा नम्बर ५, ८,१० लगायतका स्थानहरुमा सिचाई आयोजनाहरु निर्माण हुदैछन्। शिक्षा, स्वास्थ्यको अनुगमन नियमन कार्यमा जोड दिएका छौं। सामाजिक सुरक्षा भत्ता नियमित वितरण भएको छ। त्रिवेणी गाउँपालिकाले गरेका कामको समिक्षा, सार्वजनिक सुनुवाई कामहरु सम्पन्‍न भएका छन्।

  • स्थानीय तहको यो दोस्रो कार्यकाल हो पहिलो कार्यकालमा अधिकाश समय कानुन बनाउनमा बित्यो, यो कार्यकालमा तपाईहरुको जन्तालाई अनुभुति गर्नेगरी के काम गर्नुहुन्छ ?

जन्तालाई स्थानीय सरकार छ र यो हाम्रो सरकार हो भन्ने अनुभूति हुनेगरी जनताका दैनिक जीवनसंग जोडिएका कामहरुलाई व्यवस्थित गर्ने र दिगो विकासको लक्ष लिएर काम गर्ने र सामाजिक न्याय गर्ने गरी काम अगाडि बढाउने छौं।

  • बजेट निर्माण गर्दा तपाईहरुको प्राथमिकता के हो ?
    खास गरि त्रिवेणी गाउँपालिका शिक्षा स्वास्थ्य र रोजगार त्यसका लागी पूर्वाधार भन्‍ने नारालाई लिएर बजेट प्राथामिकता गर्ने योजना छ।
  • दिनप्रतिदिन युवाहरु बिदेश पलाएन भइरहेका छन, अर्का तर्फ कृषि उत्पादन पनि घटि रहेको छ । यसलाई रोक्न स्थानीय सरकारको के भुमिका हुन सक्छन ?

त्रिवेणी गाउँपालिका आर्थिक उपार्जनको मुख्य माध्याम कृषि नै हो। कृषिमा आधुनिकरण र बजारीकरणलाई जोड्दै युवाहरुलाई सीपमूलक तालिम दिएर कृषि व्यवसायमा लगाउने गरी कार्यक्रम गर्नुपर्ने देखिन्छ। त्रिवेणिमा परम्परागत खाद्य बालीको खेति भन्दा ब्लक, जोन निर्माण गरी उत्पादन बृद्धि गर्ने, सहकारीको माध्यामबाट पूँजी र श्रम संगठित गरी आम्दानी बृद्धि गर्ने हो र फलफुल खेति, मसला बाली, पशुपालनको राम्रो सम्भावना बोकेको भूगोलमा भएकोले यो क्षेत्रमा युवा आर्कषण बढाउनु पर्छ। त्यसको अलवा साना उद्योग, व्यापार र पर्यटनमा पनि रोजगारी सिर्जन गर्न सकिने सम्भावना छ। तर पनि बैदेशिक पलायन जटिल समस्याको रुपमा देखा परेको छ। यसको राष्ट्रिय योजना नभएसम्म स्थानीय प्रयासले मात्र यसलाई रोक्न सक्दैन्।

  • किसानहरुको उत्पादन बढाउनको लागि त्रिवेणी गाउँपालिकाले के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?

सिंचाईको स्रोत हुने ठाउँमा कुलो सिंचाईको गर्ने, लिफ्ट सिंचाईको विकास गर्ने, उन्‍नत मल विउको व्यवस्था गर्ने, माटोको परिक्षण गरी उक्त माटोमा कस्तो खाले उत्पादन हुन्छ त्यसको यकिन गरी स्वहि अनुसारको खेति प्रणाली अवलम्वन गर्नु पर्ने हुन्छ। त्यसलाई बजारीकरण गर्न सकिएमा कृषि उत्पादन बढ्ने देखिन्छ। अनुदानको साटो कृषि ऋण सहज गर्ने र उत्पादनमा प्रोत्साहन दिनु पर्ने हुन्छ।

  • त्रिवेणी गाउँपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? यसको लागि के कस्ता कार्यक्रमहरु सञ्चालन गर्नुभएको छ ?

त्रिवेणी गाउँपालिकामा शिक्षा र स्वास्थ्यको स्थिति सुधार उन्मुख छ। शिक्षा तर्फ एक वटा डिग्री पढाइ हुने क्याम्पस, ८ वटा विद्यालयमा कक्षा १२ सम्म पढाई हुने मावि १० वटा विद्यालयमा ९ र १० पढाई हुने मावि, १० वटा विद्यालयमा ६ देखि ८ सम्म पढाई हुने, १० वटा विद्यालयमा कक्षा १ देखि ५ सम्म पढाई हुने, २० वटा विद्यालयमा बालविकास कक्षा ४५ वटा संचालनमा रहेका छन्। स्थानीय पाठ्यक्रम निर्माण भएको छ। भर्ना दरमा सुधार रहेको छ साथै कक्षा छोड्ने दर पनि घटेको छ। स्वास्थ्य तर्फ एक वटा १० शैयाको अस्पताल, ४ वटा बर्थिङ सेन्टर सहितका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य उपचार केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्रहरु प्रत्येक वडामा संचालन छन्। टोलहरुमा खोप क्लिनिक संचालन भएका छन्। संख्यात्मक विकास राम्रो छ। यसलाई गुणस्तरिय र प्रभावकारी गराउनु पर्नेछ।

  • अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

मेरा आफ्ना कुरा र त्रिवेणी गाउँपालिकाको विषयमा कुरा राख्‍न दिएकोमा उजेली न्यूज डटकम परिवारलाई विशेष धन्यवाद छ। सहमति, सहकार्य, सहअस्तित्वको विधिबाट अगाडी जानसकियो र सम्पूर्ण त्रिवेणी बासी जनसमुदायलाई उत्साहित गर्न सकिएको खण्डमा त्रिवेणी गाउँपालिकामा केहि नयाँपना ल्याउन सकिने कुरामा विश्‍वस्त छु । यसको लागी सम्पूर्ण दलको एकता र सहयोग समन्वय आवश्यक छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार