वेपत्ता लोकबहादुरको माटोले पुरेको अवस्थामा शव फेला

वेपत्ता लोकबहादुरको माटोले पुरेको अवस्थामा शव फेला

मुसिकोट । रूकुम पश्चिममा एक हप्तादेखि बेपत्ता एक वृद्धको शव फेला परेको छ। जिल्लाको मुसिकोट नगरपालिका ३ छेडाका ६१ वर्षीय लोकबहादुर केसीको शव माटोले पुरेको अवस्थामा आज फेला परेको हो ।

लोकबहादुर चैत १ गतेदेखि बेपत्ता हुनुभएको थियो । उहाँ सोहि दिन बिहान ८ बजे घरबाट घाँस काट्न भनेर गएदेखि बेपत्ता हुनुभएको थियो ।

लोकबहादुरको शव आज मंगलबार दिउँसो २ बजे पूर्ण रूपमा माटोले पुरेको अवस्थामा छेडा देखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडकदेखि करिब ६० मिटर तल माटो पुरेको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले माटोले पूर्ण रूपमा पुरेको अवस्थाको शव कुकुरको सहयोगमा फेला परेको जानकारी दिनुभयो । बेपत्ता लोकबहादुरको खोजी गरिदिन भन्दै आफन्तले चैत २ गते प्रहरीमा निवेदन दिएका थिए ।

लगातार खोजी गर्दा पनि फेला नपरेपछि सोमबारमात्रै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर रूकुम पश्चिम ल्याइएको थियो। सोही कुकुरसहित खोजी गर्ने क्रममा लोकबहादुरको शव फेला परेको हो।

घटनास्थल क्षेत्रमा डोजरले खनेर बाटो निर्माणको काम भइरहेको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको जनाएको छ । घटना शंकास्पद रहेकोले बिशेष अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो ।

मृतकका आफन्तले भने कसैले हत्यापछि शव गाडेको हुन सक्ने आशंका व्यक्त गरेका छन। ‘घाँस काट्न भनेर लगिएको हसिया अर्कै ठाउँमा र शव अर्कै ठाउँमा फेला पर्नुले थप शंका पैदा गरेको छ,’ एक स्थानीयले भने, ‘लोकबहादुरको हत्या भएको हुन सक्छ।’

त्यसैगरि प्रहरीले शंकास्पद लागेपछि उक्त सडक खण्डमा काम गरिरहेका १ जना डोजर चालक र १ जना सह–चालकलाई पक्राउ गरेको छ । सोहि सडक खण्डमा काम गरिरहेका अर्को डोजर चालक र सह चालक फरार रहेको र उनीहरुको खोजिकार्य भईरहको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार