पूर्व अर्थमन्त्री शर्माद्धारा पितिबाङ खोलाको पुल निरिक्षण, काम छिटो सक्न निर्देशन

पूर्व अर्थमन्त्री शर्माद्धारा पितिबाङ खोलाको पुल निरिक्षण, काम छिटो सक्न निर्देशन

मुसिकोट । पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले निर्माणाधिन अवस्थामा रहेको पितिबाङ खोला पुलको निरिक्षण गर्नुभएको छ ।

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ११ र १२ जोड्ने निर्माणाधिन मोटरेबल पितिबाङ पुलको अनुगमन पश्चात तत्काल काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभएको छ ।

आईतबार पुल निर्माणस्थलमा प्रदेश सभा सदस्य, पूर्व मन्त्री, स्थानीय जनप्रतिनिधिहरु, पत्रकारहरु लगायतहरुको सहभागितामा पुल निर्माणस्थल पुगेर पूर्वमन्त्री शर्माले पुल निर्माणको प्रगती बारेमा जानकारी लिनुभएको छ ।

पुल निर्माणको हालसम्मको अवस्था बारेमा सडक डिभिजन कार्यालय चौरजहारीका ईन्जिनियर अविनाश अर्यालले अनुगमन टोलीलाई जानकारी दिनुभयो । उहाँले संरक्षण निर्माण सेवा चितवनले पुल निर्माणको लागि २०७६ असार ८ गते सम्झौता गरेको बताउनुभयो ।

२०७८ बैशाख ७ गते काम सक्ने गरी सम्झौता गरेको तर काममा ढिलाई भईरहेको उहाँले बताउनुभयो । २०७९ असारमा सम्पन्न गर्ने गरेर म्याद थप गरेतापनि उक्त म्याद समेत गुज्रिसकेको उहाँले जानकारी दिनुभयो । पाँच करोड २८ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता रहेकोमा हालसम्म १५ प्रतिशत मात्र बित्तिय प्रगति भएको ईन्जिनियर अर्यालले जनाउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि लेकबिर घर्तीले आगामी असारभित्रै काम सक्नेगरी काम गरिरहेको बताउनुभयो । एकातर्फको वेश तयार भैसकेको र अर्कोतर्फको वेश तयार हुँदै गरेकोले समयमै निर्माण सम्पन्न हुने विश्वास रहेको घर्तीको भनाई रहेको छ । उहाँले निर्माण समाग्रीहरु समेत अर्डर भैसकेको जानकारी दिनुभयो ।

सडक डिभिजन र निर्माण व्यवसायीबाट जानकारी लिए पश्चात शर्माले पुल निर्माणको काम अलपत्र हुँदा जनाताले दुख पाईरहेकोले बताउनुभयो । उहाँले ढिला नगरी काम सक्न निर्देशन दिनुभयो ।

निरिक्षणको क्रममा शर्माले समयमै ठेक्काका काम नसकिदा विकासका काम नदेखिएको उल्लेख गर्नुभयो । आफूले जिल्ला भित्रका विभिन्न योजनाहरु बारेमा सम्बन्धित कार्यालय र निकायलाई सम्पर्क गरेर जानकारी लिने र समयमै काम सम्पन्न गर्न निर्देशन दिदै आएको बताउनुभयो ।

अनुगमनमा उपस्थित प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले निर्माण व्यवसायीलाई काममा ढिलाई नगर्न र केहि समस्या परेमा तत्काल सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

उक्त अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री गोपाल शर्मा, प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त स्थानमा पुल नबन्दा विशेषगरी वर्षायाममा सर्वसाधारणहरुले सास्ती पाउँने गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार