मुसिकोट । कर्णाली प्रदेशकै सर्वाधिक राशिको रुकुम कप भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम टिमले जित्न सफल भएको ।
आज भएको फाईनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ६ नम्बर बाहिनीको टोलीलाई हराउँदै आयोजक रुकुम पश्चिम टिमले रुकुम कपको उपाधि जित्न सफल भएको हो ।
फाईनलमा भएको अत्यन्तै प्रतिश्पर्धात्मक खेलमा सशस्त्र प्रहरीको टिमलाई ३–२ सेटमा पराजित गर्दै रुकुम पश्चिमले जित हाँसिल गरेको हो ।
भलिबल तर्फ कर्णाली प्रदेशकै सर्वाधिक राशिको प्रतियोगिता भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले बताउनुभयो । उहाँका अनुसार विजेता रुकुम पश्चिमले नगद पाँच लाख रुपियाँ पुरस्कार जित्न सफल भएको छ ।
उप विजेता बन्न सफल सशस्त्र प्रहरी बल (एपिएफ) ६ नम्बर बाहिनीको टिमले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी सेमिफाइनलमा पुगेका सल्यान र सुर्खेतले १/१ लाख पुरस्कार हात पारेका छन् ।
खेल समापन समारोहमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण बहादुर रोकाय, नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्द राम देवकोटा, नेपाली काँग्रेस रुकुम पश्चिमका उप सभापति सुरतजंग मल्ल, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जनप्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।
वैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १० टिमले भाग लिएका थिए ।


 
					
							 
			 
                             
                             
                             
                             
                            