प्रहरी सेवा झन् सरल र सहज बनाउन ‘नागरिक सहजकर्ता’ परिचालन

प्रहरी सेवा झन् सरल र सहज बनाउन ‘नागरिक सहजकर्ता’ परिचालन

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी सेवा झन् सरल र सहज बनाउन सबै प्रहरी चौकीहरुमा एक साथ नागरिक सहजकर्ता परिचालन गरेको छ । आज आईतबार देखि जिल्ला प्रहरी कार्यालयमा नागरिक सहजकर्ता व्यवस्थापन कार्यक्रमको शुभारम्भ गरिएकाे हो ।

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सयुक्त रुपमा नागरिक सहजकर्ता कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
प्रहरी नायब उपरिक्षक भट्टराईले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरुवात गरेको सुरक्षित कर्णाली बिशेष अभियान अन्तर्गत जिल्लामा नागरिक सहजकर्ता परिचालन गरेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो काम वा सुरक्षा समस्या लिएर प्रहरी कार्यालय आउने नागरिकलाई बिचौलिएको सहयोगबिनै छिटो, छरितो र प्रभावकारी सेवा दिने उद्धेश्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रहरी सेवा झन् सरल र सहज बनाउने मनसायले साथ एक साथ जिल्लाभरका प्रहरी युनिटमा सहजकर्ता परिचालन गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अन्य सरकारी कार्यालयहरुले पनि यस्तो सेवा सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस कार्यले नागरिकमैत्री प्रहरी सेवा हुने र सुरक्षा तथा न्यायको अनूभुति गराउन थप मदत पुग्ने उल्लेख गर्नुभयो ।

प्रहरी कार्यालयका अनुसार नागरिक सहायता कक्षमा कार्यरत प्रहरीलाई सहजकर्ताको रुपमा खटाईएको छ । त्यसका लागि सहजकर्तालाई बिशेष अनुशिक्षणको व्यवस्था गरिएको छ । प्रहरी गेटमा उभिने सेन्ट्रि प्रहरीले नागरिक सहजकर्तासम्म सेवाग्राहिलाई लिने र सहजकर्ताले अन्य आवश्यक कार्यमा सघाउ पु¥याउने बताईएको छ । सहजकर्ताले हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्नेछन् ।

सहजकर्ताले सेवाग्राहिलाई नमस्कार तथा स्वागत गर्ने, बिनम्रताका साथ समस्याको सोधनी गर्ने, समस्याको बारेमा सम्बन्धित फाँट, कर्मचारी वा प्रमुख समक्ष समन्वय गरिदिने, सेवा प्रदान गरेको नागरिकको अभिलेख राख्ने, नम्र बोली, वचन र व्यवहारका साथ सेवाग्राहि समक्ष प्रस्तुत हुने गरी अनुशिक्षण गरिएको छ ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवाल, जिल्ला न्यायाधिवक्ता दोर्णदत्त पौडेल, चण्डिदल गणका गणपती सेनानी बरुण केसी, शसस्त्र प्रहरी बल नेपाल ४७ गुल्मका प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार