पत्रकारितामा क्रियाशिल नरहेका सदस्यहरुलाई सदस्यता त्यागको स्व-घोषणा गर्न अनुरोध

पत्रकारितामा क्रियाशिल नरहेका सदस्यहरुलाई सदस्यता त्यागको स्व-घोषणा गर्न अनुरोध

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले साधारण सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेको छ । महासंघको केन्द्रिय समितिको सर्कुलर अनुसार जिल्लामा पनि सदस्यता शुद्धीकरण गर्न थालिएको हो ।

महासंघको ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ अनुसार जिल्लामा शुद्धीकरण अभियान थालिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुद्धीकरण अभियानका लागि शाखाका उपाध्यक्ष गोपाल प्रसाद रेग्मीको संयोजकत्वमा सचिव हिरा परियार र सदस्य संगम देवकोटा सदस्य रहेको सदस्यता नविकरण तथा सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले साधारण सदस्यहरुको विवरण (पेशा तथा संलग्नता, कार्यक्षेत्र, मिडिया क्षेत्रमा रहे/नरहेको) संकलन गरिरहेको बताईएको छ ।

शाखाका सचिव हिरा परियारका अनुसार सदस्यता शुद्धीकरण अभियानलाई परिणाममूखि बनाउन महासंघले पत्रकारका पेशागत संगठनका प्रमुख तथा प्रतिनिधि, केन्द्रिय तथा प्रदेश परिषद् सदस्य, पूर्व पदाधिकारीहरु र जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थितिमा अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेको छ ।

उक्त बैठकबाट नेपाल पत्रकार महासंघ रुकुम (पश्चिम) शाखाबाट सदस्यता प्राप्त गरेका र हाल पत्रकारितामा क्रियाशिल नरहेका सदस्यहरुलाई शुद्धीकरण अभियानमा सहयोग पुग्ने गरी सदस्यता त्यागको स्वघोषणा गर्नको लागि आह्वान गर्ने निर्णय भएको सचिव परियारले बताउनुभयो ।

बैठकमा महासंघले सञ्चालन गरेको ‘सदस्यता शुद्धीकरण अभियान, २०७९’ लाई सफल पार्न जिल्लास्थित पत्रकारका पेशागत संघ संगठनहरुको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने सामुहिक प्रतिबद्धता समेत गरिएको छ ।

यसैबिच, पत्रकार महासंघ रुकुम पश्चिम शाखाले सदस्यता त्यागको स्वघोषणाका लागि एक सूचना जारी गरेको छ । आईतबार महासंघले जारी गरेको सूचनामा महासंघको केन्द्रिय समितिबाट जारी भएको ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ अनुसार विगतका दिनमा पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका र हाल पत्रकारितामा क्रियाशिल नरहनुभएका, शाखामा आबद्ध साधारण सदस्यहरुलाई स्वेच्छिक रुपमा साधारण सदस्यता त्यागको स्व–घोषणा लागि आह्वान गरिएको छ ।

रुकुम पश्चिम शाखामा आबद्ध सदस्यहरुको विवरण र ‘सदस्यता शुद्धीकरण मापदण्ड, २०७९’ पत्रकार महासंघ रुकुम पश्चिमको वेभसाईट https://fnjrukum.org/ मा हेर्न सकिने शाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार