मुसिकोट १३ द्वारा एक वर्षको प्रगति सार्वजनिक

जनप्रतिनिधिका एक वर्ष

मुसिकोट १३ द्वारा एक वर्षको प्रगति सार्वजनिक

जनप्रतिनिधिका एक वर्ष

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ द्वारा एक वर्षको अवधिमा गरेका कार्यप्रगतीको विवरण सार्वजनिक गरिएको । शुक्रबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रगती विवरण सार्वजनिक गरिएको हो ।

वडा अध्यक्ष खलबहादुर खड्काले संघीयतापछिको दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको एक वर्षको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरिएको बताउनुभयो । उहाँले गत वर्षको जेठ १२ गते पदभार ग्रहण गरेको वर्षदिन पुगेको अवसरमा भएगरेका विभिन्न कार्यक्रमहरु र आगामी वर्षको योजनाहरु सार्वजनिक गर्नुभएको हो ।

वडा कार्यालयले सार्वजनिक गरेको प्रगती विवरण अनुसार यस अवधिमा प्रशासनिक रुपले एक हजार २०२ जनालाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गरिएको छ । वडा अध्यक्ष खड्काका अनुसार यस बिचमा २१ पटक वडा समितिको बैठक सम्पन्न भएको छ भने ८९ वटा नागरिकता सिफारिस र ३५ वटा नाता प्रमाणित गरिएको छ ।

त्यसैगरी ४० वटा चारकिल्ला प्रमाणित तथा घरबाटो सिफारिस, अंग्रेजिमा १४ वटा सिफारिस र एक हजार २४ वटा अन्य सिफारिस गरिएको छ । वडाले मालपोत र सम्पती कर वापत ८१ हजार ३१५ र प्रशासनिक तथा सेवा शुल्क वापत दुई लाख २२ हजार ८१० गरेर जम्मा तीन लाख चार हजार १२५ राजश्व संकलन गरेको छ ।

वडा कार्यालयले मुसिकोट नगरपालिका, कर्णाली प्रदेश र संघीय सरकारको साझेदारीमा विभिन्न योजनाहरु सम्पन्न गरेको छ । खरको छाना मुक्त गर्ने अभियान अन्तर्गत सुरक्षित आवास कार्यक्रमतर्फ १३ वटा घरको छाना जस्तापाताको बनाईएको छ भने विपन्न, असाहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । वडामा एक घर एक धारा अन्तर्गत खानेपानी अभियान निरन्तरता दिईएको छ भने वडा भित्रमा साना सिंचाई, घट्टेखोला साधनचौर आरसिसि निर्माण सम्पन्न भएको छ ।

वडा भित्रका किसानलाई प्रोत्साहनका लागि अनुदानमा आधारित कार्यक्रमबाट सहयोग गरिएको छ भने वडाभित्रका ९५ प्रतिशत घरमा बिद्युतको पहुँच पुगेको छ । असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रमतर्फ एक हजारका दरले १७ जना सुत्केरीलाई सहयोग गरिएको छ भने महिला स्वयम् सेविकाहरुलाई मासिक पाँच सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराईएको छ ।

यस अघि भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालयले हाल आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष खड्काले आगामी आर्थिक वर्षमा कृषि संकलन केन्द्र निर्माण गरिने बताउनुभयो । त्यसैगरी साविक १ र २ नम्वर वडाका खरका छाना भएका घरमा जस्तापाता लगाईने, छेराबगर डाँडाछिवाङ सडकको स्तरोन्नती गरिने, मन्डबी थान संरक्षण तथा प्रवद्र्धन गरिने, लिफ्ट खानेपानी योजनालाई प्राथमिकता दिईने र आधारभूत स्वास्थ्य चौकी भवन निर्माण गरिने योजना गरेको बताईएको छ ।

वडा अध्यक्ष खलबहादुर खड्काको अध्यक्षमा भएको उक्त कार्यक्रम वडा सचिव जयमति बिष्टले सञ्चालन गर्नुभएको थियो भने वडा सदस्य ललिता सिर्पालीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसी, महेन्द्र माविका प्राचार्य झलक पुन, वडा सदस्यहरु गोपालसिं केसी र बिरबहादुर रोका, पत्रकारहरु, सुरक्षाकर्मी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार