आफ्नै आमाको काखमा
सारा सपनाहरूको निर्मम हत्या भएपछि
जीवनभर बाँचेर पनि बाँचेजस्तो नभएपछि
र भन्नेले पनि खाडीका बगरहरुमा
बग्रेल्ती पैसा टिप्न पाइन्छ भनिदिएपछि
सेवा सुविधाको नाममा राज्यले थमाइदिएको
हरियो पासपोर्ट खल्तीमा बोकेर
पेटमा लागेको आगो निभाउन
वीरबहादुर खाडीमा आएको छ।
आफ्नो देश
बेरोजगार उत्पादन गर्ने कारखाना भएपछि
आफ्नै देश
जनताको हाँसोहरु बन्दी गर्ने झ्यालखाना भएपछि
पुस्तौंदेखि निधारमा झुन्डिएको
वीर गोर्खाली नामको दाग मेट्दै
खाडीका कुना कुना र महलहरुमा
अहिले वीरबहादुर
कोरिरहेछ रगतले आफ्नै देशको नक्सा
र साटिरहेछ पसिनासँग अरबीहरुको दासत्व।
हो , वीरबहादुर !
व्यवस्था परिवर्तनका हरेक कालखण्डहरुमा
पञ्चाय विरुद्धको आन्दोलनमा झण्डा बोकेकै हो !
गरिबी र बेरोजगारीबाट मुक्ति पाइएला भनेर
छापामार युद्ध पनि लडेकै हो ।
गणतन्त्र प्राप्तिका लागि
जिन्दावाद र मुर्दावादका नाराहरु ओकल्दै
सहरका चोकचोकहरुमा टायर पनि बालेकै हो ।
हिजो उसले
पञ्चाय विरुद्ध बोकेका झण्डाहरु
मुक्तिका लागि लडेका युद्धहरु
गणतन्त्र प्राप्तिपछिका सपनाहरू
आज कहिल्यै सन्चो नहुने पिलोको पिप बनेर
खाडीका खोल्साखाल्सी र गौँडागल्छेडाहरुमा,
तापले उम्लिइरहेको बालुवा र भेडीगोठहरुमा
तप तप तप चुहिँदाहुन्।
उसले सोचेको थियो
देश जनताको लागि पनि हुन्छहोला भनेर
उसले सुनेको थियो
परिवर्तनले व्यवस्था मात्र होइन
जनताको अवस्ता पनि बदल्छ भनेको
यहाँ को बदलिए, कोको बदलिएनन् रु
तर बदलिन नसकेका वीरबहादुरहरु भने
दुई गास चारो जुटाउन
आफ्नै मातृभूमिलाई पैतालाले कुल्चेर
निरीहकासाथ आफ्नो स्वाभिमान झुकाउँदै
पराइ भुमिमा तातो हावा ओकल्दै
आफ्नै आँसु र पसिनाको चौलानी खाँदाहून्।
यता राज्य भने
उनकै रगत र पसिनाको रेमिटेन्सले देश हाँक्न
आफ्नै नागरिकहरुको निधारमा
पराधीनताको लाहाछाप लगाइदिएर
युवाहरूको व्यापार गरिरहेछ।
ओहो ! वीरबहादुर ?
कति बिझाउँदोहो आँखामा आफ्नो देशरु
कति दुख्दाहुन् मुटुमा आमाबाबु रु
कति चस्किँदाहुन् छातीमा जहानपरिवाररु
कति चिराउँदोहो स्मरणमा गाउँघररु
कति आत्मग्लानि हुँदोहो यो देशमा जन्मनु परेकोमा ?
तर पनि वीरबहादुर
पिडैपिडाका पिलाहरु फुटाउन
समस्यै समस्याका पोकापन्तराहरु फ्याँक्न
एक पित्को सुखको खोजीमा
ऊ खाडीमा नै छ
वीरबहादुरहरु खाडीमा नै छन् ।