मुसिकोटले ल्यायो करिव ७५ करोडको बजेट

मुसिकोटले ल्यायो करिव ७५ करोडको बजेट

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

आईतबार मुसिकोट नगरपालिका ७ स्थित ठुलिदहमा आयोजित १२ औं नगरसभामा नगर प्रमुख महेन्द्र केसीले नीति तथा कार्यक्रम र उप प्रमुख बिमल कुमार पुनले बजेट वक्तव्य पेश गर्नुभएको हो ।

नगर प्रमुख केसीले कृषि र उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिईएको बताउनुभयो । उहाँले ‘पौरखी हातहरुलाई स्थानीय सरकारको साथ’ भन्ने नाराका साथ कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम सुरु गरिने बताउनुभयो ।

बाँझो जमिन नराख्ने नीति ल्याउने, वडा नम्वर १० को झ्याङ बस्तीलाई लसुन पकेट क्षेत्र घोषणा गर्ने नीति ल्याईएको छ । त्यसैगरी बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषिमा प्रोत्साहन गर्ने, व्यवसायीसँग नगरपालिका कार्यक्रम सञ्चालन गर्ने नीति ल्याईएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

त्यसैगरी उप प्रमुख पुनले नगरसभामा करिब ७५ करोडको बजेट बक्तव्य पेश गर्नुभएको छ । उहाँले कुल ७४ करोड ६८ लाख २७ हजार ५२५ रुपियाँको बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

जसमध्य चालुतर्फ ५७ करोड १० लाख २७ हजार ५२५ अर्थात ७६.२७ प्रतिशत र पुजिँगततर्फ १७ करोड ७६ लाख अर्थात २३.७३ प्रतिशत बजेट रहेको छ ।

त्यसैगरी आगामी वर्षको लागि राजश्वको लक्ष्य घटाईएको छ । यस वर्ष राजश्व संकलनको लक्ष्य दुई करोड राखिएको छ । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट उपर आगामी असार २६ गते बस्ने नगरसभामा छलफल गर्ने  र पारित गर्ने कार्यक्रम रहेकाे छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार