रुकुम पश्चिममा सेनाको स्वास्थ्य शिविर, १२५ जनाको नि:शुल्क उपचार

रुकुम पश्चिममा सेनाको स्वास्थ्य शिविर, १२५ जनाको नि:शुल्क उपचार

मुसिकोट । नेपाली सेनाले रुकुम पश्चिममा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।

नेपाली सेनाको चण्डीदल गण सल्लेले स्वास्थ्य सेवा कार्यालय, चौरजहारी अस्पताल, आँखा उपचार केन्द्र र साझा मुराल अस्पतालसँग सहकार्य गरेर शनिबार सल्ले ब्यारेकमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले संयुक्त रुपमा स्वास्थ्य शिविरको शुभारम्भ गर्नुभएको हो ।

भू.पू. तथा बहालवाला सैनिक र आश्रित परिवारलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको चण्डीदल गण सल्लेका गणपति प्रमुख सेनानी बरुण केसी खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट १२५ जनाले सेवा सेवा लिएका छन् भने २२ जनालाई नि:शुल्क चस्मा र अन्यलाई नि:शुल्क औषधि बितरण गरिएको छ ।

शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, पेट, छाला, महिला तथा स्त्री रोग सम्बन्धी उपचार सेवा विशेषज्ञ डाक्टरबाट प्रदान गरिएको प्रमुख सेनानी खत्रीले बताउनुभयो । उहाँका अनुसार शिविरमा जिल्ला अस्पताल, चौरजहारी अस्पताल, साझा मुराल अस्पताल र नेपाली सेनाको १९ नम्बर बाहिनी दाङमा कार्यरत विशेषज्ञ सहितको टिमले सेवा दिएको थियो ।

शिविरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सेवा लिएका छन ।  शिविरमा स्वास्थ्य परीक्षण गर्दा अधिकाशमा हाडजोर्नी र आखाँको समस्या देखिएको बताइएको छ ।

यस्तै सेनाले सञ्चालन गरेको निःशुल्क शिविरले आश्रित परिवारले समेत सेवा लिन पाएको भूतपूर्व सैनिक संघ रुकुम पश्चिमका अध्यक्ष तेजबहादुर चन्दले जानकारी दिनुभयो। लामो समयसम्म देशको सेवा गरेर सेनाको तर्फबाट यस्ता सेवामूलक काम हुँदा आफूलाई गौरव लागेको उहाँको भनाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार