रुकुम पश्चिममा आईपुगे १० हजार राष्ट्रिय परिचयपत्र, आजैबाट वितरण सुरु

रुकुम पश्चिममा आईपुगे १० हजार राष्ट्रिय परिचयपत्र, आजैबाट वितरण सुरु

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा १० हजार चार सय थान राष्ट्रिय परिचयपत्र प्राप्त भएका छन् । प्राप्त परिचयपत्रलाई कार्यालयले आईतबारबाट औपचारिक रुपमा वितरण सुरु गरेको छ ।

पहिलो दिन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी बिरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्नुभयो ।

सेवाग्राहिलाई परिचयपत्र वितरणको क्रममा प्रमुख जिल्ला अधिकारी पन्तले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा पनि सेवाग्राहीको काम सहज हुने बताउनुभयो । अहिलेलाई जिल्लामा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी दिनुहुँदै उहाँले राज्यले यसलाई अब मालपोत, बैङ्किग कारोबार, यातायात सेवा लगायतका कार्यमा बिस्तारै जोड्दै लैजाने नीति लिएको बताउनुभयो ।

यसका साथै नागरिकको सेवा सुविधा सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

रुकुम पश्चिममा २०७७ साल कार्तिक महिनादेखि राष्ट्रिय परिचयपत्र प्रयोजनका लागि विवरण संकलन सुरु गरिको थियो । सोहि विवरणको आधारमा तयार भएको डिजिटल परिचयपत्र आईतबारबाट वितरण गर्न थालिएको हो ।

परिचयपत्र जिल्लामा आईपुगेपछि कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको फोटो खिँचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने गरेको छ । म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरण कागज लिई आउनुपर्ने प्रशासन कार्यालयले जनाइएको छ ।

जिल्लाका ७३ वटै वडामा शिविर मार्फत ६५ हजार विवरण संकलन गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा १८ हजार जनाको विवरण संकलन भएको थियो । पहिलो चरणमा कार्यालयबाट संकलन गरिएकाहरु मध्य १० हजार चार सय जनाको परिचय पत्र आईपुगेको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शााखाले जनाएको छ ।

परिचयपत्र वितरण सुभारम्भ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु लगायत सेवाग्राहिहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार