सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

मुसिकोट । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले रुकुम पश्चिममा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०’ सुरु भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको शुभारम्भ गर्नुभएको छ ।

सप्ताह अन्तर्गत सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने प्रहरी नायब उपरिक्षक  नमराज भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताह सुरु गरिएको प्रहरी नायब उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र ट्राफिक प्रहरी कार्यालयले सप्ताह अन्तर्गत आज देखि असोज ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने बताइएको छ ।

सप्ताह शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डीदल गणका गणपति प्रमुख सेनानी सरद थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला अधिकारकर्मी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार