राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्छ : प्रधानमन्त्री

राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्छ : प्रधानमन्त्री

बाफिकाेट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताउनुभएको छ।

बिहीबार दिउँसो रुकुम पश्चिमकाे बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धि विधेयक टुंगाउन सरकारले पहल गरिरहेको बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ। महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ।”

“यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेका छौं। यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार हो। फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईहरूमाझ आएको छु।” प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो।”

“शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ। यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन्। सहिद पार्कहरू, स्तम्भहरू बन्छन्। यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ।”

कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राख्नुभएको थियोे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार