सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।
बिहिबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्न आदेश दिएको हो । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे रिगलको कैद मिनाहा गर्ने निर्णय बदर भएको जानकारी दिनुभयो ।
संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलसहित अन्यको कैद मिनाहा गर्नुभएको थियो ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।