रुकुम पश्चिम : भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत वितरण

रुकुम पश्चिम : भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत वितरण

मुसिकोट । रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई शुक्रबारदेखि राहत रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मृतकको घरमै गएर मृतकका परिवारलाई दुई लाखको दरले राहत दिन थालेको हो ।

मृतकका नजिकका कानूनी हकवालालाई राहत रकम वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार राहत सम्बन्धि मापदण्ड, २०७७ अनुसार जनहि दुई लाख रुपियाँको दरले राहत वितरण गरिएको छ ।

एकाघरका एक भन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकहरुलाई संख्याको आधारमा एकएक लाख गरेर उपलब्ध गराईएको हो । पहिलो दिन १६ जना मृतकका नौ परिवारलाई २५ लाख रुपियाँ राहत उपलब्ध गराईएको छ ।

सानीभेरी गाउँपालिका भित्रका १० जना मृतक र आठविसकोट नगरपालिकाका १४ छेपारे गाउँका छ जना मृतकका आफन्तजनलाई राहत वितरण गरिएको प्रजिअ पन्तले बताउनुभयो । सरकारले गरेको निर्णयका आधारमा उक्त राहत उपलब्ध गराईएको हो ।

जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मृतक परिवालाई राहत उपलब्ध गराएको हो । भोली नै अन्य मृतकका परिवारलाई राहत उपलब्ध गराईसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहत रकमसँगै मृतकका परिवारलाई न्यानो कपडा समेत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

राहत वितरण कार्यमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चण्डीदल गणका गणपती शरद थापा, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, अनुसन्धान अधिकृत होमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार