चिसोले बिरामी पर्न थाले बालबालिका

चिसोले बिरामी पर्न थाले बालबालिका

जाजरकोट भेरी नगरपालिका-४ खलंगास्थित कस्तुरी बोर्डिङ स्कुलको प्रांगनमा त्रिपालमा एक सातादेखि बसिरहेकी १२ दिनकी सुत्केरी विमला तिरुवाको स्वास्थ्यमा समस्या देखिन थालेको छ।

आमाका साथै बच्चा पनि बिरामी परेको छ। त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएका छन्। खानेकुरा केही छैन। यतिबेला न्यानो र पोसिलो खानेकुराको आवश्यकता पर्छ। तर उनलाई यतिबेला एकातिर भूकम्पको त्रास एकातिर छ भने अर्कोतिर चिसोबाट ज्यान कसरी जोगाउने भन्ने पिरलो छ। कुशे गाउँपालिका-९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवाको घरमा भाडामा बस्थिन्।

भूकम्प जानुभन्दा तीन अघि सुत्केरी भएकी उनी भागेर ज्यान जोगाएको बताउँछिन्। श्रीमान वीरेन्द्र ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्ने गर्थे। भूकम्प गएदेखि सबै अस्तव्यस्त छ। कामकाज ठप्प छ। ९ दिनदेखि काममा जान पाएका छैनन्। जसका कारण पनि उनको पाँच जनाको हातमुख जोर्न समस्या भएको छ। छाक टार्न समस्या भएको परिवारमा सुत्केरीलाई पोसिलो खानेकुरा कसरी खुवाउने श्रीमान वीरेन्द्रले भने हामीलाई बाँच्न गाहे भो। अहिलेसम्म उनलाई कसैले राहत दिएको छैन। भाडामा बस्नेलाई स्थानीय सरकारले नहेर्दा उनी जस्तै धेरै पीडितहरू समस्यामा छन्।

सोही ठाउँमा त्रिपालमा बस्दै आएका हेमन्त जंग सिंहका अढाई वर्षका छोरा इमान जंग सिंह पनि बिरामी छन्। उनलाई चिसोले खोकी लाग्न थालेको छ। भूकम्पपछि त्रिपालमुनि बस्नु पर्दा बिरामी पर्न थालेको इमानकी आमा कमलाले बताइन्। उनले त्रिपालबाट सित चुहिने र निकै चिसो भएकोले छोरालाई खोकीले सताएको बताइन्। त्यस्तै स्थानीय नविना विक कि डेढ वर्षकी छोरी एलिसा पनि बिरामी छन्। चिसोले गर्दा रुघाखोकी लागेको छ। रातभरी सुत्ने दिन्न आमा नविनाले भनिन ‘न खान पाएका छौ न सुत्न नै। छोरी बिरामी भएर थप समस्या भएको छ।’

त्यस्तै भेरी नगरपालिका-१ रिम्न कि १७ वर्षीय पवित्रा चलाउने पनि दुई दिनदेखि बिरामी छन्। भुँई चिसो छ। त्रिपालबाट पनि शीत चुहिन्छ। जसका कारण छोरी बिरामी परेकी छ। न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै। घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ? उनले भनिन ‘राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौं। चिसो र भोकले मर्ने बेला भो।’

जाजरकोटमा मात्र होइन रुकुमका भूकम्प पीडितहरू पनि बिरामी पर्न थालेका छन्। त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकाहरूमा रुघाखोकी ज्वरो, निमोनिया लगायतका समस्या देखिन थालेको आठविसकोट नगरपालिका-१४ छेपारेकी सरस्वती जैसीले बताइन्। उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोसिलो खानेकुराको कमी भएको बताइन्।

‘जाजरकोटका ९५ प्रतिशत मानिसहरू घरबाहिर छन्। शौचालयहरू भत्किएका छन्। पोषणको अभाव छ। सुत्केरी, गर्भवती, बृद्धबृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन। शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ। धेरै मानिसहरू मानसिक रूपमा डराइरहेको अवस्था छ। धेरैलाई मनोसामाजिक परामर्श दिनुपर्ने अवस्था छ’ विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. श्रद्धा पंगेनीले विपद् व्यवस्थापन समिति वास कलस्टरको बैठकमा गाउँको अवस्था बारे जानकारी गराउँदै भनिन ‘स्वास्थ्य तथा सरसफाई क्षेत्रमा काम गर्ने साझेदार निकायहरूले यस तर्फ तत्काल ध्यान दिन जरुरी छ। स्वास्थ्य सम्बन्धी नत्र आउट नहोला भन्न सकिन्न।’

उनले गर्भवती र सुत्केरीलाई तत्काल पोसिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु पर्ने बताइन्। स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिहरूको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। जाजरकोटमा गत वर्ष दादुरा फैलिएको जिल्ला भएकाले यसपटक पनि हाइरिस्कमा छ। फेरि फैलन सक्छ यसतर्फ पनि ध्यान दिँदै हामी सबै मिलेर सम्भावित जोखिम निराकरण गरौं उनले भनिन।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार