रुकुम पश्चिममा राहत सामग्रीमा आगजनी गर्ने दुईजना पक्राउ

रुकुम पश्चिममा राहत सामग्रीमा आगजनी गर्ने दुईजना पक्राउ

मुसिकोट । भूकम्प पीडितहरुको राहत वितरणमा आगजनी गर्ने दुईजनालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका राहत सामग्रीमा चित्त नबुझेको भन्दै जिल्लाको सानीभेरी गाउँपालिका २ को परिगाउँ टोलमा भूकम्प प्रभावितहरुको राहत सामग्रीमा आगो लगाइएको थियो ।

राहत सामग्री आगजनी गर्ने कार्यमा संलग्न सोही वडाका गोपाल बुढा र खिमबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

आगजनीबाट १५ थान कम्बल जलेर नष्ट भएको प्रहरीको भनाइ छ । उनीहरुले आफूले पाएका कम्बलमा समेत आगो लगाएका छन् ।

वडा कार्यालयबाट परिगाउँ टोलमा पठाइएका राहत सामग्रीमा आगो लगाइएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष मानबहादुर पुनका अनुसार भूकम्प पीडितहरुका लागि वडामा प्राप्त राहत सामग्रीहरु सम्बन्धित टोलहरुमा पठाएर वितरण गर्ने क्रममा वडाको परिगाउँ टोलमा आगजानी भएको हो ।

भूकम्पबाट प्रभावित परिवारलाई राहत वितरण गर्ने क्रममा परिगाउँ टोलमा गएका एक चरणका कम्वलमा आगो लगाइएको हो । राहत वितरणमा चित्त नबुझेको बहानामा उनीहरुले लगाएको बताइन्छ ।

आगजनी गर्ने कार्यमा संलग्न दुबै जना भूकम्प प्रभावित नै हुन् । वडा कार्यालयका अनुसार उहाँहरुले यस अघि त्रिपालसहितको राहत सामग्री पाइसक्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार