काँग्रेसद्वारा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण

काँग्रेसद्वारा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण

मुसिकोट । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण क्षति भएका घरहरुमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भईरहेको छ ।

यसै क्रममा नेपाली काँग्रेसले भूकम्पपीडित परिवारको लागि निर्माण गरेका पाँच वटा अस्थायी आवास पीडित परिवारलाई हस्तान्तरण गरेको छ । बुधबार सानीभेरी गाउँपालिका वडा नम्वर ४ पुरानोगाउँमा निर्माण भएका तीन वटा र खालचौरमा निर्माण भएका दुई वटा अस्थायी आवास हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको प्राविधिक सहितको स्वयम् सेवक समुहले पहिलो चरणमा पाँच वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको हो । भूकम्पको कारण घर भत्किएका र चर्किएर बस्न नमिल्ने अवस्था भएका मध्य कमजोर अवस्था भएका, घाईते भएका, घरमा काम गर्नसक्ने जनशक्ति नभएका पीडित परिवारहरु छनौट गरेर अस्थायी आवास निर्माण गरिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो । पहिलो चरणमा पाँच वटा अस्थायी आवास सम्पन्न गरेको र सानीभेरी गाउँपालिकाको वडा नम्वर १ र २ मा थप पाँच वटा निर्माणको लागि भोलिदेखि त्यसतर्फ परिचालन हुने बरालले जनाउनुभयो ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले सानीभेरी गाउँपालिका वडा नम्वर ४ का बालदेवी मल्ल, गौनी बिक, झुपलाल बिक, टोपेन्द्र मल्ल र कर्णे कामीको अस्थायी आवास निर्माण गरिएको बताउनुभयो । सभापति ओलीले अस्थायी आवास निर्माणको लागि जिल्ला पार्टी कार्यालयको समन्वयमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा रहेको टोलीले आठविसकोटमा आज देखि अस्थायी आवास निर्माणको काम सुरु गरेको बताउनुभयो । वडा नम्वर ११ मा पाँच वटा र वडा नम्वर १४ मा पाँच वटा आवास निर्माण भईरहेको सभापति ओलीले जानकारी दिनुभयो ।

अस्थायी आवास निर्माणको काममा केन्द्रीय सदस्यहरु मानबहादुर नेपाली, गुरु बराल, अजयबाबु शिवाकोटी, कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेम प्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका स्थानीय तहमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरु परिचालन भएको नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सानीभेरी गाउँपालिका ४ मा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरणसँगै प्रभावित परिवारलाई ब्याङकेट र खाद्य सामाग्री समेत राहत स्वरुप वितरण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार