डिउटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

डिउटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

कर्णाली प्रदेशमा प्रहरीले डिउटीमा खटिएका बेला मोबाइल फोनको प्रयोग गर्न नपाउने भएका छन् । डिउटीमा खटिनेमध्ये प्रहरी ‘कमाण्डर’ले भने फोन बोक्न पाउनेछन् । अन्य प्रहरी कर्मचारीलाई अत्यावश्यक भएमा कमाण्डरकै फोनबाट सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबारबाट कर्णालीभरि यस्तो नियम लागू गरिएको हो । मातहतका सबै कार्यालयमा यो प्रावधान लागू गर्न परिपत्र भइसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए । कतिपय अवस्थामा एक जना प्रहरीमात्र डिउटीमा हुने ट्राफिक प्रहरीले भने मोबाइल फोन प्रयोग गर्न पाउनेछन् ।

प्रहरीको ध्यान डिउटीमा केन्द्रित गराउन यस्तो व्यवस्था गरिएको डीआईजी ढकालले बताए । ‘डिउटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी निगरानी हुन सकोस् र प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्य हो,’ उनले भने । उनका अनुसार डिउटीमा खटिएका प्रहरीले मोबाइल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, आपराधिक घटना भएमा तत्काल अनुसन्धान गर्न सहज हुने, सामाजिक सञ्जालको दुरूपयोगबाट प्रहरीलाई बचाउन सकिने अपेक्षा गरिएको छ । यो कार्यले प्रहरीप्रति सर्वसाधारणको विश्वास पनि बढ्ने अपेक्षा गरिएको उनले बताए ।

डिउटीका बेला आवश्यक सञ्चारका लागि कमाण्डरलाई भने फोन बोक्न दिइनेछ । अन्य कर्मचारीहरुले जरुरी कामका लागि पनि कमाण्डरकै फोनबाट सहजिकरण गरिनेछ । मोबाइल चलाएर सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइएपछि गत वैशाखयता कर्णालीमा आठ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । उनीहरुलाई यस्ता कुराहरुबाट बचाउन पनि डिउटीका बेला मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार