भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै अजयबाबु शिवाकोटी

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै अजयबाबु शिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी यतिबेला भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेका छन् ।

उनले मंगलबारदेखि निरन्तर भूकम्प पीडितका लागि अस्थायी टहरा बनाइरहेका छन् । रुकुम पश्चिम आठविसकोट १४, ज्यामिरेकोट पूर्ण गाउँमा उनले अस्थायी आवास बनाइरहेका हुन् ।

नेपाली कांग्रेसले यसपालि जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ ।

सोही क्रममा शिवाकोटीले आफ्नो भूमिका निभाएका हुन् । सायदै यसरी उनले आफ्ना लागि घरका टहरा वा गाईवस्तु पाल्ने गोठ वा अन्य कुनै प्रयोजनका लागि छाप्रा वा टहर बनाए होलान् ।

तर पार्टीको काम भनेको नितान्त समाजसेवा भएको बुझेका शिवाकोटीले व्यक्तिगत परिस्थितिलाई थाँती राखेर आफ्नो राजनीतिक कर्मलाई निखारता दिएका हुन् ।

उनले त्यहाँ भएका सिकर्मीहरुसँग तालमा ताल मिलाइरहेका छन् । शिवाकोटीले शुक्रबारसम्म १५ ओटा टहरा बनाएर हस्तान्तरण गर्ने बताए ।

यसै क्रममा नेपाली काँग्रेसले भूकम्पपीडित परिवारको लागि निर्माण गरेका पाँच वटा अस्थायी आवास पीडित परिवारलाई हस्तान्तरण गरेको छ । बुधबार सानीभेरी गाउँपालिका वडा नम्वर ४ पुरानोगाउँमा निर्माण भएका तीन वटा र खालचौरमा निर्माण भएका दुई वटा अस्थायी आवास हस्तान्तरण गरिएको हो ।

भूकम्पको कारण घर भत्किएका र चर्किएर बस्न नमिल्ने अवस्था भएका मध्य कमजोर अवस्था भएका, घाईते भएका, घरमा काम गर्नसक्ने जनशक्ति नभएका पीडित परिवारहरु छनौट गरेर अस्थायी आवास निर्माण गरिएको केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए ।

अस्थायी आवास निर्माणको काममा केन्द्रीय सदस्यहरु मानबहादुर नेपाली, गुरु बराल, अजयबाबु शिवाकोटी, कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेम प्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका स्थानीय तहमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरु परिचालन भएको नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार